१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँ महानगरपालिकाको प्रवक्तामा मानन्धर नियुक्त


नवीन मानन्धर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ ।

उनी कामपाको सूचना प्रविधि समितिका संयोजकसमेत हुन् । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ । यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छवटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।

तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी भएका थिए । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ ।

चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो । बैठकका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको जानकारी गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !