१९ बैशाख २०८१, बुधबार

सिपिसीका विदेश विभाग प्रमुख लिउको यस्तो छ भेटघाटको तालिका


liu jianchao

काठमाडौँ । ८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आज बिहान साढे १० बजे काठमाडौँ आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उनको स्वागत गरेका थिए ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै पुरानो वानेश्वरस्थित द्वारिकाज होटलमा गएका छन् । द्वारिकाजमा दिउसोभर आराम गरेर उनी बेलुकीबाट भेटघाटमा निस्किने बुझिएको छ । विदेश विभाग प्रमुखको रुपमा नियुक्त भएपछि लिउको यो पहिलो नेपाल भ्रमण हो ।

चार दिने नेपाल भ्रमणमा आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतासँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

लिउले आज आइतबार बेलुकी करिब ४ बजे परराष्ट्रमन्त्री नारायण खड्कालाई सिंहदरबार गैर भेट्ने छन् भने बेलुकी साढे ६ बजे कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटवार्ता गर्ने छन् ।

परराष्ट्र स्रोतका अनुसार लिउको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार साँझ मेरियट होटलमा रात्रिभोजको आयोजना समेत गरेका छन् । आज उनले कांग्रेसका नेता र प्रधानमन्त्री देउवालाई भेटेपछि लिउले दोस्रो दिन भोलिबाट राष्ट्रपति विद्यादेवी भण्डारीका साथै अन्य कम्युनिष्ट नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

गत चैतमा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि छिमेकी चीनका तर्फबाट भएको यो उच्चस्तरको अर्को भ्रमण हो । नेपाल र चीनबीच लामो समयदेखि रहेको मैत्री सम्बन्ध विस्तारका लागि लिउको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

विदेश विभागमा नियुक्त भएपछि उनले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र, प्रमुख विपक्षी दल नेकपा(एमाले)का शीर्ष नेतृत्वसँग श्रव्यदृश्यका माध्यमबाट संवाद गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !