२६ बैशाख २०८१, बुधबार

राष्ट्रिय सभामा ८ विधेयकको बार्षिक प्रतिवेदन पेश


राष्ट्रिय सभा

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा विभिन्न ८ वटा विधेयकहरुको प्रतिवेदन पेश भएको छ । बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले अध्यागमन विधेयक, २०७६, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६, प्रतिलिपी अधिकार(पहिलो संशोधन) विधेयक, २०७६, विद्युत विधेयक, २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ सम्बन्धी विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पेश गरेका हुन् ।

राष्ट्रिय सभाको आजको बैठकको शुरुमा भने बिशेष समयमा बोल्दै सांसदहरुले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

बिशेष समयमा बोल्दै सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद अनिता देवकोटाले बहुदलीय व्यवस्थापामा प्रतिपक्षीको भूमिका अहम् हुने भए तापनि आफू सत्ता पक्षमा हुँदा एउटा कुरा गर्ने र प्रतिपक्षमा पुगेपछि अर्कै कुरा गर्ने प्रबृत्ति जनताप्रतिको बेईमानी भएको बताईन् ।

नेपालको असंलग्न परराष्ट्र नीति बिपरित नजाने कुरा प्रधानमन्त्री शेरबहादुर देउबाले स्पष्ट पारिसकेको बताउँदै सांसद देवकोटाले आफू सत्तामा हुँदा निर्णय गर्ने अनि प्रतिपक्षमा पुगेपछि सोही कुराको बिरोध गर्ने कार्य ठिक नभएको बताइन् ।

सांसद देवकोटाले दाङको कोइलाबास नाकालाई पुन संचालनमा ल्याउन माग गर्दै सो नाकामा भौतिक पूर्वाधारहरु समेत पहिले देखिनै रहेको सदनलाई जानकारी दिइन् ।

दाङ जिल्लामा ६ वटा सिमेन्ट उद्योग रहेकाले त्यहाँ अत्यधिक भारबहन गर्र्ने ट्रिपर लगायतका सवारी साधनहरुले चाप हुने तथा दुर्घटना पनि बढि हुने भन्दै सांसद देवकोटाले सो सडकको स्तरोन्नतीका लागि सरकारसँग माग गरिन् । नागरिकता विधेयकलाई तत्काल अगाडि बढाउनु पर्ने बताउँदै सांसद देवकोटाले राष्ट्रिय सभाबाट १२ वटा विधेयकहरु पारित गरि सन्देश सहित प्रतिनिधि सभामा पठाइए पनि प्रतिनिधि सभाले उक्त विधेयकलाई पास नगरिसकेकाले सो विधेयकहरु अब के हुने हो ? भनी चिन्ता व्यक्त गरिन् ।

बिशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)की सांसद भगवती न्यौपानले प्रमुख प्रतिपक्षी दलले सरकारको कमीकमजोरीको बारेमा सधैं आवाज उठाउँदै आइरहेको तथा यसरी आवाज उठाउनु देश र जनता प्रतिको न्याय पनि भएको बताइन् । अहिले देशलाई सत्तापक्षीय पाँच दलीय गठबन्धनले चिथोर्ने काम गरिरहेका बताउँदै सांसद न्यौपानेले प्रमुख प्रतिपक्षी दलद्वारा अर्थमन्त्रीको बारेमा एउटा छानबिन समिति गठनको माग गर्दा त्यसलाई बेवास्ता गरिएको बताइन् । उनले भनिन,‘अनधिकृत व्यक्तिहरुलाई राखेर बजेट बनाइएको बिषयमा छानबिन हुनुपर्छ, प्रबिधिलाई ढाँट्न सकिंदैन, सीसी टीभी फुटेज देखाइयोस् ।’

अहिले चर्चामा रहेको अमेरिकी एसपीपीको सम्बन्धमा प्रधानमन्त्री देउबाले जवाफ नदिई प्रतिनिधि सभाको बैठकलाई पनि छलिरहेको बताउँदै उनले संस्कृति सिकाउनु पर्ने संस्कृतिमन्त्रीले अश्लील शब्द बोल्दै आफ्नो मातहतका कर्मचारीलाई हातपात गर्दा होस् या एउटा प्रदेशकी मन्त्रीले अर्काको घर भित्र पसेर हातपात गर्दा समेत सत्ता गठबन्धन दलहरुले उनीहरुलाई अझैसम्म पदबाट राजीनामा गर्न नलगाएकोप्रति आपत्ति प्रकट गरिन् ।

राष्ट्रियताको कुरा गर्दा भारत र अमेरिकाले नसुन्ने गरी विस्तारै बोल्न प्रतिपक्षीलाई सिकाइने गरेको भन्दै सांसद न्यौपानेले राष्ट्रियताको सवालमा भारत, अमेरिका र चीनलाई आफूहरुले सुनाउन नै चाहेको स्पष्ट पारिन् ।

एसपीपी र प्रधानन्त्रीको अमेरिका भ्रमणको बारेमा प्रधानमन्त्रीबाट सदनलाई जवाफ नदिएकोमा आपत्ति जनाउँदै उनले एसपीपी आईपीसकै अंग हो भन्ने जानकारीमा आए पछि सबै भन्दा बढि प्रमुख प्रतिपक्ष दलले नै खबरदारी गरिएको दाबी गरिन् ।

पूर्व प्रधानमन्त्री सुशिल कोईराला प्रधानमन्त्री हुँदा अमेरिकी सरकारले जंगी अड्डालाई पठाएको पत्रको बारेमा जंगी अड्डाले सरकारलाई जानकारी गराएको र सरकारकै सल्लाहमा जंगी अड्डाले पनि अमेरिकालाई पत्र लेखेको दाबी गर्दै सांसद न्यौपानेले पछि अमेरिकाले नेपाली सेनाको अनुरोधमा सो प्रस्तावलाई स्वीकृत गरेको भन्ने कुरा बाहिर आएको बताइन् ।

पछि केपी ओली नेतृत्वको सरकारले यो आईपीसकै अंग हो भन्ने कुरा थाहा पाएपछि यसमा सहभागी हुन नसकिने जवाफ अमेरिकालाई दिएको जिकिर गर्दै उनले हालको प्रमुख प्रतिपक्षले विगतमा सत्तापक्षमा हुँदा नै नेपालको चुच्चे नक्सा जारी गरेको, नेपालको मिचिएको भूमि फिर्ता मागेको र नाकाबन्दीको प्रतिवाद सहित सामना गरेको स्मरण गरिन् ।

बिशेष समयमा सत्तागठबन्धन दल नेकपा(माओवादी केन्द्र)का सांसाद तारामान स्वाँरले अहिले एसपीपी कसको पालामा आयो ? र को बढि राष्ट्रवादी ? भन्ने बहश भइरहेको बताउँदै मुख्य कुरा भने मुलुकको सार्वभौमिकता, अखण्डता र स्वाधीनता नै भएको स्पष्ट पारे ।

एमसीसी पारित गरे पछि नै अमेरिकी गतिबिधि नेपालमा बढिरहेको सबैलाई अनुभूति भइरहेको भन्दै सांसद स्वाँरले अहिले हामी अमेरिकातिर ढल्केको ? र नेपालको सार्वर्भामिकता नै खतरामा परेको त हैन ? भन्ने प्रश्नहरु सबैतिरबाट उठिरहेको बताए ।

नेपालको सिमा क्षेत्रको रक्षाको लागि राष्ट्रिय नीतिको अभावले अहिले सीमा मिचिनेक्रम र नेपालका नागरिकहरुनै असुरक्षित हुनेक्रम बढिरहेको भन्दै उनले सीमाको रक्षार्थ खटिने सुरक्षाकर्मीहरुलाई उचित स्रोत र आधुनिक साधनहरुको उपलब्धता हुनुपर्नेमा जोड दिएका थिए ।

उनले दार्चुला जिल्लाका केही ठाउँमा सशस्त्र प्रहरीको बीओपीहरु रहेको र केही स्थानहरुमा अझ थप गर्नु भन्दै स्थापित बीओपीहरुमा समेत सशस्त्र प्रहरी बलको तैनाथी हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद स्वाँरले बझाङको तिंकर सीमा क्षेत्रमा समेत सशस्त्र प्रहरीको बीओपी विस्तार गर्नु पर्ने आवश्यकता रहे पनि त्रिदेशीय नाकामा बीओपी स्थापनाको लागि सरकारको गरेको ढिलासुस्ती र उपेक्षा किन ? भनी प्रश्न गरेका थिए ।

बर्षायाम शुरु भएसँगै बाढि, पहिरो, डुबान लगायत प्राकृतिक प्रकोपहरु आइलाग्न शुरु भईसक्दा समेत सरकारको खासै तयारी नदेखेको बताउँदै उनले किसानहरुले बालीनालीका लागि अझैसम्म कृषि मल पाउन नसकेकोमा दुःख व्यक्त गरे । उनले प्रश्न गरे,‘मल बिना उत्पादन कसरी बढ्छ ?’

बिशेष समयमा सत्तागठबन्धन दल नेकपा(एकीकृत समाजवादी)की राजेन्द्रलक्ष्मी गैरेले पाल्पाबाट बुटवलतर्फ बग्ने दुम्कीबास होङ्सी सिमेन्ट कारखाना छेउको तिनाऊ खोलामा पुल नहुँदा अहिले सवारीसाधानहरु खोलाबाट नै आवातजावत गर्नुपर्ने बाध्यता रहेको भन्दै सभाध्यक्ष मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएकी थिइन् । सांसद गैरेले अहिले गाउँगाउँमा समेत थुप्रै बिदेशी मान्छेहरु विभिन्न बहानामा बसिरहेको भन्दै गम्भिर आशंका व्यक्त गरिन् ।

विशेष समयमा स्वतन्त्र सांसद खिमलाल देवकोटा नयाँ बजेटका बारेमा मन्त्रालयहरुले आ–आफ्नो वेभसाईटमा विवरणहरु अझै सार्वजनिक नगरेको भन्दै बिदेशी संचार माध्यमहरुमा नेपालमा एउटै शिर्षकमा विभिन्न निकायबाट बजेट राखेर भ्रष्टाचार हुने गरेको भनी समाचारहरु आएको बताए ।

मन्त्रीको पीए बनेर ४ वर्षमै ६ करोड कमाएको भन्ने समाचार आएको बताउँदै सांसद देवकोटाले राजकीय पदमा पुगेका व्यक्तिहरुलाई आफ्नै पीएबाट सजग हुन अनुरोध पनि गरे । सांसदहरुलाई विभिन्न प्रतिवेदन र पुस्तकहरु वितरण गर्नुको सट्टा ईमेल र पेनड्राईभमा सफ्टकपी उपलब्ध गराउने तथा वेभसाईटहरुमा ती पुस्तकहरु राख्ने व्यवस्था भएमा राज्यको ठूलो ढुकुटी जोगिने सांसद देवकोटाको धारणा थियो ।

विशेष समयमा सांसदहरु भुवनबहादुर सुनार, भैरबसुन्दर श्रेष्ठ, मदनकुमारी साह गरिमा, बीना पोखरेल र युवराज शर्माले समेत बोलेका थिए । राष्ट्रिय सभाको अर्को बैठक भोलि जेठ ६ गते दिउँसो १ बजे बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !