२५ बैशाख २०८१, मंगलबार

काठमाडौँमा बस्न गाह्रो भइसक्यो : सांसद चौधरी


गंगा चौधरी

काठमाडौँ। सांसदले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मारमा परेका जनतालाई राहत दिन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गरी खाद्यान्यलगायत सामग्रीमा भइरहेको महँगी नियन्त्रणमा विशेष चासो दिन आग्रह गरे ।

सांसद गंगा चौधरीले पेट्रोलियम पदार्थ लगायतमा अचाक्ली मूल्यवृद्धि भएकाले काठमाडौँमा बस्न गाह्रो भएको बताएकी छन् । उनले भनिन्, “महँगीले काठमाडौँमा बस्न गाह्रो भइसक्यो, घरबेटीले भाडा बढाए हामी (सांसद) जस्तालाई पनि गाह्रो भइसक्यो भने आज सर्वसाधारणको अवस्था कस्तो होला ? आयल निगम सधैँ घाटामा जानुपर्ने कारण के हो ? कमिसनको खेलले त होइन ।”

सांसद शान्तिमाया तामाङ पाख्रिनले मूल्यवृद्धिले विशेष गरी गरिब जनता र मजदूरलाई मार परेको जिकिर गरिन् । सांसद आशाकुमारी विक, पार्वतीकुमारी विशङ्खे, रेखाकुमारी शर्मा, मोहनप्रसाद पाण्डे, हरिराज अधिकारीलगायतले मूल्यवृद्धिको उपाय खोजेर जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !