१५ बैशाख २०८१, शनिबार

राष्ट्रियसभाको बैठकद्वारा संघीयता कार्यान्वयन सम्बन्धी संसदीय विशेष समिति गठन


राष्ट्रियसभा

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ । हिजो जेठ १९ गतेको राष्ट्रिय सभा बैठकमाबाट सर्वसम्मतरुपमा स्विकृत भएको संकल्प प्रस्तावमा प्रस्तावित संघीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागत लगायत सबै पक्षको अध्ययन गरी राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्नका लागि सो विशेष समिति गठन गरिएको हो ।

स्वतन्त्र सांसद खिमलाल देवकोटाको संयोजकत्वमा गठित समितिमा सांसदहरु प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा.बिमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा, प्रमिला कुमारी सदस्यका रुपमा रहेका छन् । उक्त विशेष समितिको कार्यावधि कार्य प्रारम्भ गरेको मितिले ४ महिना हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त नामावली सहितको संसदीय विशेष समिति गठनको प्रस्तावलाई बैठकले सहमति जनाएको थियो ।

राष्ट्रिय सभाको हिजो बिहीबारको बैठकमा स्वतन्त्र सांसद खिमलाल देवकोटा प्रस्तावक र सांसदहरु जितेन्द्र नारायण देव, गोपिबहादुर सार्की अछामी, नन्दा चपाईं, प्रमिला कुमारी र देबेन्द्र दाहाल समर्थक रहेको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !