२१ बैशाख २०८१, शुक्रबार

तिलोत्तमाको मेयरमा गृहमन्त्री बालकृष्ण खाँणका भाई रामकृष्ण निर्वाचित


रामकृष्ण खाँण

बुटवल । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको मेयरमा गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाई रामकृष्ण खाँण निर्वाचित भएका छन् । नेपाली कांग्रेसका खाँणले नेकपा एमालेका मोहन चापागाईंलाई पराजित गर्दै तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खाँणले २४ हजार ३९६ मत ल्याएर नगर प्रमुखमा निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चापागाईंले २३ हजार ६३१ मत प्राप्त गरेका छन् । खाँणले चापागाईंभन्दा ७६५ मत मात्र धेरै ल्याएर विजयी भएका हुन् ।

खाँण नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापतिसमेत हुन् । गत मंसिर महिनामा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनबाट कांग्रेस रुपन्देहीको सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

उपप्रमुखमा भने एमालेकी जागेश्वरी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार ५४६ मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !