१४ बैशाख २०८१, शुक्रबार

राजनीतिक दल नसच्चिए धेरै बालेन जन्मिएमा दलको अस्तित्व समाप्त हुँदै जानेछ : पूर्वप्रधानमन्त्री खनाल


झलनाथ खनाल संसदमा

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब राजनीतिक दल ठीक ढङ्गले चल्न नसके धेरै बालेन साहहरु जन्मने र राजनीतिक दलको अस्तित्व समाप्त हुँदै जाने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै खनालले राजनीतिक दल नसच्चिए धेरै बालेन जन्मिदै जानाले दलको अस्तित्व समाप्त हुँदै जाने भनेर राजनीतिक दलका नेताहरुलाई ध्यानकर्षण गराएका हुन् ।

यस्तै खनालले नेपालको भूूमि र सीमा संरक्षण गर्ने कुरामा राष्ट्रिय सहमति जुट्न जरुरी भएको बताएका छन् । उनले राष्ट्रिय हितका लागि सगरमाथा जस्तै अटल भएर उभिनु सक्नुपर्ने र वर्तमान संविधानलाई मार्गदर्शन मानेर अघि बढनुपर्नेमा जोड दिएका थिए ।

उनले भूमि सुधारको कुरा नीति तथा कार्यक्रम नभएको उल्लेख गरेका हुन् । नेता खनालले श्रमजीवी वर्गको हितका लागि ठोस नीति तथा कार्यक्रम नभएको बताउँदै गरिवी निवारणसम्बन्धी ठोस नीति ल्याउनु पर्ने बताए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संसोधनको सूचना पेश गर्नुभएका नेकपा (एमाले)का सांसद हृदयेश त्रिपाठीले नागरिकता विधेयलाई सहमतीका आधारमा पारित गर्ने कुराबाट सरकार पछि हट्न खोजेको बताएका छन् । उनले नागरिकताको सवालमा संविधानमा उल्लेख भएअनुसार नै अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

एमाले अर्का सांसद शेरबहादुर तामाङले संस्थानहरु नीजिकरण गर्ने कुराको भण्डाफोर गर्नुको विकल्प नरहेको बताउँदै आफ्नो संसोधन प्रस्तावमा गाँजा खेती सम्बन्धीको विधेयकलाई पारित गर्न सके युवाहरु विदेशीने क्रम केही रोकिने र राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने हुँदा छिटो भन्दा छिटो यसलाई पारित गर्नुपर्ने बताए ।

मेलम्ची खानेपानी आयोजनामा गत वर्षको बाढि पहिरोबाट ठूलो क्षति पुगेको बताउँदै सांसद तामाङले यसको विषय नीति तथा कार्यक्रममा नपरेकोमा दुःख व्यक्त गरे ।

नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिंदै सोही पार्टीका सांसद भिमबहादुर रावलले स्वदेशी कच्चापदार्थको आधारमा उद्योगहरुको विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै नीति तथा कार्यक्रममाको बुँदा नं.१९ मा संसोधनको सुचना प्रस्तुत गरेका थिए । सांसद रावलले विषादिको परीक्षण नगरी विदशेबाट खाद्य वस्तुको आयात गरिने छैन भन्ने कुरा राख्न माग गरेका थिए । उनले नीति तथा कार्यक्रम राखिएका अंग्रेजी शब्दलाई नेपालीकरण गर्नुपर्ने माग समेत गरे ।

यस्तै संसोधनकर्ता एमालेकै सांसद खगराज अधिकारीले १३९ बुँदामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपूलेकबाट भारतीय सेना तुरुन्त हटाउनुपर्ने कुरा उल्लेख गर्न आग्रह गरेका थिए । उनले हरेक पालिकालाई पुँजी निर्माणको श्रोत बनाउन सकिने धारणा राख्दै राष्ट्रिय पुँजी निर्माणमा जोड दिन सरकारलाई आग्रह गरे ।

अर्की संशोधनकर्ता राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रदेशिक संरचनाका कारण अनुत्पादक क्षेत्रमा ठुलो बजेट गएकाले विकास बजेट कुण्ठिएको बताउँदै त्यस्ता संरचना खाजेर गर्नुपर्ने बताए । उनले नागरिकता सम्बन्धी हकमा आफूले पेश गरेको संसोधन प्रस्तावबारे बताउँदै नागरिकता ऐन कठोर बनाएर लैजानु पर्नेमा जोड दिएकी थिइन् ।

छलफलमा भाग लिंदै सत्तारुढ दलका नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले अघिल्लो सरकारले गर्न नसकेका काम, अर्थतन्त्रले सामना गरिरहेको परिस्थिति नियन्त्रणका लागि नीति तथा कार्यक्रम सकारात्मक भएको बताउँदै नीति तथा कार्यक्रमे जनता र राष्ट्रको पक्षमा रहेको बताए ।

सीमा समस्याका सम्बन्धमा प्रतिपक्ष दलका सांसदहरुबाट उठाइएका प्रश्नप्रति सङ्केत गर्दै सांसद सिंहले कुटनीतिक रुपमा सीमा विवादलाई सम्बोधन गर्ने भनेर उल्लेख भइसकेकाले सो विषयमा अन्य कुरा उठाइरहनु तर्कसंगत नहुने दावी गरेका थिए ।

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले नीति तथा कर्याक्रमका उद्देश्यहरु सकरात्मक रहेको बताउँदै गरिबी दर घटाउने, पर्यावरण संरक्षण, सुशासन, कृषकको संरक्षण, विकास, उद्योगको प्रवद्र्धन, नेपाली उत्पादनको निर्यात लगायत विषयमहरु नीति तथा कार्यक्रममा रहेको बताए । नीति तथा कार्यक्रम माथिको छलफल अर्को भोलि पनि जारी रहने भएको छ ।

यसैबीच, प्रतिनिधि सभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूणर्कुमारी सुवेदीले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०७९’ पेश गरेकी थिइन् ।

बैठकमा महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले ‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७९’ पेश गरेकी गरिन् । प्रतिनिधि सभाको अर्को बैठक भोलि जेठ १३ गते बिहान ११ बजेका लागि डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु