१४ बैशाख २०८१, शुक्रबार

ओलीको प्रश्न : हाम्रो विदेश नीति राष्ट्रिय स्वार्थमा चल्ने हो कि, सत्ता स्वार्थमा चल्ने हो ?


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई हाम्रो विदेश नीति राष्ट्रिय स्वार्थमा चल्ने हो कि, सत्ता स्वार्थमा चल्ने हो ? भनेर प्रश्न गरेका छन् ।

आज बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि सुरु भएको छलफलमा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि हो र यो फिर्ता ल्याउँछु भन्न नसक्नेले सरकारको नेतृत्व गर्नुको कुनै अर्थ नभएको बताउँदै प्रश्न गरे,‘के राष्ट्रिय अखण्डता र राष्ट्रहितको पक्षमा प्रतिपक्षले मात्र जिम्मा लिने हो ?, यस्को जवाफ चाहिन्छ ।’

नेपालको स्वतन्त्र परराष्ट्र नीतिको विपरित सरकारकाले नीति तथा कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रको उत्पादन देखि र व्यापारसम्म नेपाल र भारतले संयुक्त रुपमा जारी गरेको ऊर्जा विकास सम्बन्धी दीर्घकालीन अवधारणा बमोजिम गर्ने भनेर राखेर भन्दै आपत्ति प्रकट गर्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रममा सबै कुरा उल्लेख भए पनि बेल्ट रोड ईनिसियशन (बीआरआई) को सहयोग लिने नलिने सम्बन्धमा कुनै पनि कुरा नआएको बताए ।

अध्यक्ष ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती शरणार्थी शिविर अवलोकन गरेकोप्रति आपत्ति जनाएका छन् । ओलीले अमेरिकी उपविदेशमन्त्री जियाको तिब्बती शरणार्थी शिविर अवलोकनप्रति आपत्ति जनाएका हुन् ।

अध्यक्ष ओलीले नेपालको परराष्ट्र नीतिको स्थापित मान्यताका विपरीत राज्यकै समन्वयमा अमेरिकी उपमन्त्री शरणार्थी शिविर छिरेको भन्दै आपत्ति जनाएका हुन् । अमेरिकी मन्त्रीको नेपाल भ्रमणमा नेपालको परराष्ट्र नीतिका स्थापित मूल्य र मान्यतालाई खण्डित गर्ने प्रकारको व्यवहार भएको भन्दै ओलीले विरोध जनाएका हुन् ।

उनले नीति तथा कार्यक्रममा आएका अधिकांश विषयहरु शब्दावलीको पुलिन्दाको रुपमा मात्र आएको, खोजीखोजी मिठामिठा शब्द हालेर जनता अल्मल्याउने काम मात्र गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले नेपाल र भारत प्रबुद्ध समूहले तयार पारेको (ईपीजी रिपोर्ट) लाई भारतीय प्रधानमन्त्रीले बुझ्न नमाने पनि नेपालको प्रधानमन्त्रीले भए पनि त्यसलाई बुझेर सदनलाई समेत जानकारी गराउन माग गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !