१९ बैशाख २०८१, बुधबार

ओली सरकारमा जाँदैनौँ, मंसिरमा चुनाव पनि हुँदैन


gagan thapa

गमगढीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् गगन थापाले केपी ओली नेतृत्वको सहमतीय सरकारमा कांग्रेस नजाने बताएका छन् ।

नेपाल तरुण दल मुगुको चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता थापाले नयाँ संविधान जारी गरिसकेको अवस्थामा अब कसैको पनि हस्तक्षेप नसहने बताए ।
देशको सम्वृद्धि र विकास तथा सरकार सञ्चालनका विषयमा कसैको हस्तक्षेप सहन्नौं’, उनले भने, ‘यसमा भारत र चीनले हस्तक्षेप गर्न खोजे सबै दल मिलेर प्रतिकार गर्नुपर्छ ।’

संविधान कार्यन्वयनसँगै अबको डेढ वर्षभित्र तीनवटा निर्वाचन गराउनुपर्ने चुनौती रहेकाले यो चुनौतीलाई सामना गर्न देशका प्रमुख तीन दल एक हुनुपर्नेमा उनले जोड दिए ।

मंगलबार विहान पत्रकारहरुसँगको भेटघाटमा थापाले केपी ओली नेतृत्वमा सहमतीय सरकार बनेपनि कांगे्रस कुनै हालतमा नजाने बताए । सरकारले मंसिरमा गराउने भनेको स्थानीय निर्वाचन कुनै हालतमा सम्भव नहुने उनको भनाइ छ ।

संविधान कार्यान्वयनको ठूलो चुनौती हुँदाहँुदै नेकपा माओवादी, नेकपा एमाले, नेपाली कांग्रेस सरकार रहने नरहने कुरामै अलमलिएको उनले बताए ।

सरकारका विषयमा अलमलिनु भन्दा तीन दल मिलेर एकजुट नहुँदासम्म संविधान कार्यान्वयन र मधेस मुद्दा समाधान हुन नसक्ने उनले बताए ।

दलहरुको सत्ताको लडाइँले ख्याल ख्यालमा देशै संकटमा फस्न लागेको थापाको भनाइ छ । नयाँ संविधानले २०७४ माघसम्म निर्वाचन गरि सक्नुपर्ने व्यवस्था अनुसार निर्वाचन हुननसके संविधान पनि कार्यान्वयन हुन नसक्ने थापाको जिकिर थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !