२३ बैशाख २०८१, आइतबार

भारतीय प्रधानमन्त्री मोदी पाँचौँ पटक आज नेपाल भ्रमणमा आउँदै


शेरबहादुर देउवा र नरेन्द्र मोदी

लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्दै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् ।

बुद्ध पूर्णिमामा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि उनीबाट हुन लागेको यो पाँचौँ भ्रमण हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने छ । प्रधानमन्त्री देउवा भारत गएको एक महिनापछि नै मोदी नेपाल आउन लागेका हुन् । मोदीको नेपाल भ्रमण भने यसपल्ट निकै छोटो हुन सक्ने बताइएको छ ।

नेपालका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुनेछन् । मोदी दिल्लीबाट हालै सञ्चालनमा आउको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आउनेछन् ।

प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा मोदी आउन लागेका हुन् ।

प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत छन् ।

प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी डा. आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गर्ने कार्यक्रम छ । भोलि नै दुबै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !