२२ बैशाख २०८१, शनिबार

भरतपुर महानगरको मतगणना अचानक स्थगित


मतगणना सुरु फाइल फोटो

भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना अचानक स्थगित गरिएको छ । मतपत्र बदर र सदर गर्ने विषयमा गठबन्धन र एमालेवीच विवाद भएपछि मतगणना अचानक स्थगित गरिएको हो ।

भरतपुर महानगरपालिका वडा नम्वर २ को मतगणना चलिरहेको बेला मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना अचानक स्थगित गरिएको हो । मतपत्रमा लगाइएको स्वस्तिक छाप नबुझिएकोले विवाद उत्पन्न भएको हो ।

हिजो त्यस्तै प्रकृतिको स्वस्तिक छाप माओवादी केन्द्रको चुनाव चिन्ह हसियाँ हतौडामा हुँदा सदर भनिएको तर आज उस्तै प्रकृतिको स्वस्तिक छाप नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा हुँदा बदर भनिएको भनेर एमालेले विवाद उठाएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले सुरुमा मत सदर भनेपनि एकैछिनमा बदर भनेको भनेर षडन्यन्त्र भएको भन्दै एमाले प्रतिनिधिहरुले आरोप लगाएका छन् ।

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल आफ्ना प्रतिद्वन्द्वीभन्दा ८० मत बढी ल्याएकी छिन् ।

४८७७ मत गणना हुँदा दाहालले १७२७ मत प्राप्त गरेकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६४७ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४७० मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसको उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले १८९५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १३३३ मत ल्याएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !