१५ बैशाख २०८१, शनिबार

गठबन्धनले महानगर र उपमहानगरको तालमेल भोलिसम्म टुंग्याउने


सत्ता गठबन्धन

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका पाँच दलहरुले स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा गरिने भनिएको भागबण्डाको तालमेलबारे भोलि सोमबारसम्म टुंग्याउने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आइतबार बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा सोमबारसम्म टुंगो लगाइसक्ने निर्णय गरेको हो ।

बालुवाटार स्रोतका अनुसार बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट लिने निर्णय समेत भएको छ । आज आइतबार बसेको बैठकले छिटो पदहरुको बाँडफाँट गर्ने भन्ने समझदारी समेत गरेको बैठकमा सहभागी एक नेताले बताए ।

महानगर र उपमहानगरपालिका बाहेकका स्थानीय तहको भागबण्डाबारे टुंग्याउन आइतबार दिउँसो कार्यदलस्तरमा छलफल हुने ती नेताले जानकारी दिए । यसअघि सत्ता गठबन्धन पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका थिए ।

महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख सिट बाँडफाँट गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सिट बाँडफाँट जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने, प्रदेशले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउने निर्णय गठबन्धनले गरेको थियो ।

सबै तहका वडाको अध्यक्ष र सदस्यको सिट बाँडफाँट भने जिल्लास्तरीय संयन्त्रले वैशाख ३ गतेभित्र टुङ्गो लगाउने बैठकले निर्णय गरेको छ । यसैगरी बैठकले विसं २०७४ को स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारहरूलाई मान्ने, गत स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार, स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागीलगायत आधार मान्ने निर्णय भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !