२३ बैशाख २०८१, आइतबार

अर्थमन्त्रीलाई जेल हाल्नुपर्छ, श्रीलंकाको जस्तो भाग्‍ने दिन नआओस् : पूर्वअर्थमन्त्री पाण्डे


सुरेन्द्र पाण्डे फाइल फोटो

काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले श्रीलंकामा जस्तै नेपालका अर्थमन्त्री जनार्दन शर्मा भाग्‍ने दिन आउन सक्ने चेतावनी दिएका छन् ।

आज आइतबार एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई जेल हाल्नुपर्ने बताएका छन् । उनले विदेशबाट आएकाे पैसा नराेक्न राष्ट्र बैंकलाई पत्र लेख्ने अधिकार अर्थमन्त्री शर्मालाई नभएकाे भन्दै कारबाही हुनुपर्ने माग गरेका हुन् ।

पाण्डेले देशको आर्थिक अवस्था जटिलतातर्फ उन्मुख भएको सचेत गराउदै अर्थमन्त्री शर्मा पनि भाग्ने स्थिति आउन सक्ने चेतावनी दिएका हुन् । उनले अर्थमन्त्री शर्माले नेपाल ल्याउन लागिएको विदेशी मुद्रा खुलाउन राष्ट्र बैंकलाई पत्र लेखेको कानुन विपरीत हुने बताएका छन् ।

उनले बजेट र मौद्रिक नीति ल्याउने बेला देश गभर्नरबिहीन बनाएको भन्दै शेरबहादुर देउवा नेतृत्वको साकारप्रति आपत्ति प्रकट गरेका हुन् । उनले विदेशबाट आएको रकम राष्ट्र बैंकले छानबिन गरिरहेको विषयमा अर्थमन्त्रीले पैसा फुकुवा गर्न निर्देशन दिएको आफूले सुनेको समेत बताए ।

मुलुकको आर्थिक अवस्थाका बारेमा एमालेले पार्टीको धारणा सार्वजनिक गर्न तीनजना पूर्वअर्थमन्त्रीहरू तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुको उपस्थितिमा ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आज पत्रकार सम्मेलन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !