२० आश्विन २०८१, आइतबार

सरकारमा सहभागी हुने र चुनावको तयारीबारे छलफल गर्न लोसपाको बैठक बस्दै


लोसपा संसदीय दलको बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक आज बस्दै छ । लोसपाको केन्द्रीय कार्यालय बबरमहलमा आज दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान संघीय सरकारमा सहभागी हुनेबारे निर्णय गर्न र स्थानीय चुनावको तयारीबारे छलफल गर्न लोसपाको बैठक बस्न लागेको हो । यसका साथै आजको बैठकमा स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ । आजको बैठकमा देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने भएको हो ।

प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको वर्तमान सरकारमा सहभागी लागि सकारात्मक भएर अनुरोध गरेपछि लोसपाले पार्टीमा छलफल गरेर निर्णय लिने भएको हो । देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी हुनुपर्ने बताएका छन् ।

पार्टीमा छलफल भएर निर्णय भएपछि कतिवटा मन्त्रालय लिने, कुन कुन मन्त्रालय लिने लगायतको विषयमा लोसपाले प्रधानमन्त्री देउवासँग छलफल गर्ने भएको छ । अहिलेको रिक्त रहेका रक्षा मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री देउवाले आफैंसंग राखेका छन् ।

रिक्त रहेका यी दुइ वटै मन्त्रालय लोसपाले पाउने प्रवल सम्भावना रहेको छ । यद्यपि लोसपाले सरकारमा सहभागी हुने निर्णय गरेमा मन्त्रिमण्डल पुनर्गठन गरेरै भएपनि सरकारमा सहभागी गराउन देउवा तयार भएका छन् । यसो भएमा अहिलेका केही मन्त्रीहरुको पद चैट् हुने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !