१४ बैशाख २०८१, शुक्रबार

बिमस्टेकको सम्मेलन शुरु, परराष्ट्रमन्त्री खड्का आज कोलम्बो जाँदै


डा. नारायण खड्का एयरपोर्टमा

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलन आज सोमबारबाट श्रीलङ्काको कोलम्बोमा शुरु भएको छ ।

जारी बिमस्टेकको बैठकमा सहभागी हुन परराष्टमन्त्री डा. नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल आज श्रीलंका प्रस्थान गर्ने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालपत्रलाई जानकारी दिइन् । मन्त्री खड्का आज दिउसो १:०५ बजेको फ्लाईमा श्रीलंका प्रस्थान गर्न लागेका छन् भने बैठकमा भाग लिएर मन्त्री खड्का चैत १७ गते काठमाडौँ फर्कनेछन् ।

परराष्ट्रमन्त्री खड्का भोलि चैत १५ गते श्रीलङ्काको बिम्स्टेकको १८ औँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुनेछन् । त्यहाँ रहँदा उनले बिम्स्टेक सदस्य राष्ट्रका समकक्षीहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख घनश्याम भण्डारीे नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही चैत १४ गते हुने बिम्स्टेकका वरिष्ठ अधिकारीहरूको २२ औँ बैठकमा शारीरिक रूपमा सहभागी हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिमस्टेकको पाँचौ शिखर सम्मेलनलाई यही चैत १६ गते श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, मुख्यसचिव शङ्करदास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पाँचौँ बिमस्टेक शिखर सम्मेलन र त्यसअघिका बैठकहरू कोलम्बोमा चैत १४ गतेदेखि १६ गतेसम्म ‘हाइब्रिड’ ढाँचामा आयोजना हुँदैछ । यस वर्षको शिखर सम्मेलनको नारा ‘स्वस्थ्य जनता, उत्थानशील क्षेत्र, समृद्ध अर्थतन्त्रतर्फ बिम्स्टेक’ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !