२३ बैशाख २०८१, आइतबार

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै


चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले आज नेपाल आउन लागेका हुन् ।

संसदवाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन भएपछि स्टेट काउन्सिलर वाङ नेपाल भ्रमणमा आउनुलाई विशेष चासोका साथ हेरिएको छ ।

भारतको भ्रमण सकेर चिनियाँ विदेशमन्त्री शुक्रबार साँझ नयाँ दिल्लीबाट काठमाडौं आइपुग्ने छन् । भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणका अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताको कार्यक्रम तय भएको छ ।

नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री खड्का र उहाँका चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरमा यही चैत १२ गते द्विपक्षीय हित र चासोका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी आइतबारसम्म नेपाल भ्रमणमा रहनेछन् । चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !