२० बैशाख २०८१, बिहिबार

प्रमुख प्रतिपक्ष दल एमालेद्वारा आज पनि संसद अवरोध


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेध गरेको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ’ गर्दै नाराबाजी गरेका थिए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भइ आफ्ना कुरा राख्न प्रतिपक्षी दलका सांसदसंग आग्रह गरेका थिए । एमालेका सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’ भन्ने जस्ता नारा लगाएका थिए ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना नटाँसेको भन्दै संसदको बैठक अवरोध जारी राख्दै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ जना संसदलाई सभामुख सापकोटाले निष्काशन गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ ।

सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको थियो ।

आज प्रतिनिधिसभाका दुई वटा बैठक राख्ने सरकारले तयारी गरेको छ । पहिलो बैठकमा एमसीसी छलफलका लागि पेश गर्ने र दोस्रो बैठकले अनुमोदन गर्ने रणनीति सरकारले अवलम्वन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !