१४ बैशाख २०८१, शुक्रबार

सडक र सत्ताको दोहोरो गाईजात्रा बन्द गर्न प्रचण्ड र नेपाललाई थापाको चेतावनी


कमल थापा फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष एवं नवगठित दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई सडक र सत्ताको दोहोरो चरित्र बन्द गर्न सुझाव दिएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाले प्रचण्ड र नेपाललाई सडकमा ढुङ्गामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्न आग्रह गरेका हुन् ।

थापाले सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने गाईजात्राले संविधान र व्यवस्था कै खिल्ली उडाएको भन्दै आपत्ति प्रकट गरेका छन् । यसअघि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र भातृ संगठनले एमसीसीको विषयलाई लिएर सडकमा आन्दोलन गरेका छन् ।

माओवादी केन्द्रका भातृ संगठनहरु अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले नयाँ बानेश्वरमा एमसीसीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । यस्तै एकीकृत समाजवादीका कार्यकर्ताहरुले पनि नयाँ बानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन गरेपछि थापाको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

थापाले लेखेका छन्, ‘सडकमा ढुङ्गामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस् @cmprachanda @ncp_madhavnepal MCCको विरुद्धमा हुनहुन्छ भने खुलेर प्रतिवाद गर्नुहोस्।सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने “गाईजात्रा” ले संविधान र व्यवस्था कै खिल्ली उडाएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !