१२ जेष्ठ २०८१, शनिबार

एमसीसी संसदमा टेबल गर्नुपर्ने देउवाको प्रस्तावलाई प्रचण्ड-माधवद्वारा अस्वीकार


सत्ता गठबन्धनका तीन शीर्ष नेता

काठमाडौँ । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउसो भएको छलफल बिना कुनै निष्कर्ष सकिएको छ । एमसीसी सम्झौतालाई संसदवाट पास गर्ने कि नगर्ने भन्ने मुख्य विषयमा केन्द्रित छलफलमा आ-आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालवीच भएको छलफलमा एमसीसी संसदमा टेबल गर्नुपर्ने प्रधानमन्त्री देउवाको भनाईलाई प्रचण्ड र माधवले ठाडै अस्वीकार गरेको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले अव ढिला नगरी एमसीसीलाई प्रतिनिधिसभाको आगामी बैठकमा टेबल गरेर छिनोफानो गर्नुपर्ने धारणा राखेका थिए । तर प्रधानमन्त्री देउवाको सो प्रस्तावलाई प्रचण्ड र नेपालले अस्वीकार गरेका हुन् ।

प्रचण्ड र नेपालले एमसीसी संसद्मा टेबल गर्नु अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र यसका लागि प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने कुरा राखेका थिए । स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने प्रचण्ड र नेपालको धारणा रहेको थियो ।

प्रचण्ड र नेपालको उक्त धारणाको जवाफ दिंदै प्रधानमन्त्री देउवाले संसद्मा सबै दलले धारणा राख्न पाउने जिकिर गर्दै एमसीसी टेबल गर्न धेरै ढिला गर्न नहुने आफ्नो अडान दोहोर्‍याएका थिए । प्रधानमन्त्रीले एमसीसी सम्झौता टेबल गर्न जोड दिएपछि प्रचण्ड र नेपालले जबर्जस्ती गरेर एमसीसी टेवुल गर्ने हो भने गठबन्धन टुट्न सक्ने चेतावनीसमेत दिएको बुझिएको छ ।

सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने पक्षमा भएपछि यसअघि नै प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी समेत दिएका थिए । तर प्रधानमन्त्री देउवाले भने एमसीसी सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिएतापनि आजको बैठकले कुनै ठोस निष्कर्ष भने निकाल्न सकेन ।

अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिएतापनि उक्त विषयमा सत्तारुढ गठबन्धनमा नै चरम मतभेद रहेको छ । केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेपाली राजनीतिक दलका नेताहरुलाई फोन गरेर एमसीसी पारित नभए नेपालसँगको सम्बन्धनमा पुनर्विचार गर्ने सम्मको धम्की दिएपछि प्रधानमन्त्री देउवा लगायत अन्य नेताहरु एमसीसी पास गर्नुपर्ने दवावमा छन् ।

प्रधानमन्त्री देउवाले आगामी बस्ने भनिएको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने तयारी जारी राखेका छन् । देउवाले वर्तमान सत्ता गठबन्धन तोडेरै भएपनि एमसीसी पहिला संसदमा टेवल गराएर पछि पास गर्ने तयारीमा लागेका छन् । प्रचण्ड’ र नेपालले एमसीसी पास गर्नुपूर्व केही बुँदामा संशोधन गरेर मात्र पास गर्न सकिने भन्ने सर्त राखेपछि प्रधानमन्त्री देउवा गठबन्धन तोडेरै भएपनि एमसिसी पास गर्न तातेका हुन् ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी बजेट जसरी संसदबाट पास नहुने अडान राख्दै आएका छन् । एमसीसीको विषयलाई लिएर पछिल्लो समय सभामुख सापकोटाले दवावमा छन् । प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने पक्षमा उभिएपछि उनी दोधारमा परेका हुन् ।

सभामुख सापकोटालाई महाभियोग लगाएर हटाएमा संसदवाट एमसिसी पारित गर्न सहयोग गर्ने एमालेले ग्रिन सिग्नल दिएपछि देउवाले सभामुख सापकोटाको विकल्प खोजेर भएपनि संसद्मा एमसीसी टेबल गर्ने तयारी गरेका हुन् ।

एमसीसीको मुख्यालयलाई पत्र लेखेपछि पारित गर्नुपर्ने थप दबाबमा रहेका प्रधानमन्त्री देउवाले भरसक सत्ता गठबन्धनबीच सहमति गराएर एमसीसी पास गर्ने मनस्थितिमा रहेपनि एमसीसी पारित गर्न प्रचण्ड र नेपाल तगारो बनिरहे विकल्प खोजेर एमसीसी पास गर्ने मोडमा समेत रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !