३ असार २०८१, सोमबार

बालेनले भौतिकमन्त्री महासेठलाई पठाए एक ट्रक धूलो उपहार


एक ट्रक धूलो उपहार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाएका छन् ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धूलो उपहार पठाएको जानकारी दिएका हुन् ।

मेयर शाहले मन्त्री महासेठलाई उनलाई पायक पर्ने ठाउँमा दैनिक एक ट्रक धुलो उपहार पठाउने घोषणा पनि गरेका हुन् । शाहले एक स्टाटस लेख्दै सडक विभाग अन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँको गेटमा एक ट्रक धुलो फ्याँकिएको भिडियो समेत सार्वजनिक गरेका छन् ।

उनले फेसबुकमा यस्तो स्टाटस लेखेका छन्

माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु !
तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।
यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला ।

थप जानकारीको लागि युटूब भिडियो हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !