१४ बैशाख २०८१, शुक्रबार

नयाँ पार्टी खोल्ने विषयमा छलफल गर्न कमल थापाले बोलाएको बैठक जारी


कमल थापाले बोलाएको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पूर्वअध्यक्ष कमल थापाले आफू निकट नेताहरुको बोलाएको बैठक जारी रहेको छ । जारी बैठकको मुख्य एजेण्डा नयाँ पार्टी खोल्ने विषय नै हुने बताइएको छ ।

उनले काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नयाँ पार्टी खोल्ने तयारी स्वरूप केन्द्रीय सदस्य र पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले राजसंस्थाकाे आलोचना गर्दै आएका छन् ।

विगतमा थापाले निर्मल निवासको ठाडो हस्तक्षेपवाट राप्रपा अध्यक्षमा आफू हारेको भनेर पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आरोप लगाउदै निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक भएको टिप्पणी समेत गरेका थिए । उनले सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन नसकिने पनि बताउदै आएका छन् ।

बैठकमा पटक-पटक आफूले लेखेको पत्र, पार्टीमा अध्यक्ष राजेन्द्र लिङ्देनको एकलौटी मनोनय लगायत विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए । केही समय अगाडि भएको राप्रपाको केन्द्रीय महाधिवेशनमा अध्यक्षका प्रत्यासी थापा पराजित भएका थिए ।

थापाले पार्टीमा सबैलाई समेट्न ध्यानाकर्षण पत्र लेख्दै आफूले गत २७ मंसीरमा पठाएको पत्रप्रति गम्भीर बन्न अध्यक्षलाई आग्रह गरेका थिए । आफ्नो पत्रलाई अध्यक्षले रद्दीको टोकरीमा मिल्कादिएको भन्दै उनले महाधिवेशनपछि आफूलाई पार्टीका कुनै पनि कार्यक्रममा संलग्न नगराएकोप्रति गुनासो गरेका थिए ।

यता राप्रपाका अध्यक्ष लिङदेनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दाबी गरेका छन् । अध्यक्ष लिङदेनले पार्टीलाई बलियो र एकताबद्ध बनाउँदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताएका छन् ।

आइतबार पार्टीका २४ जना मनोनीत पदाधिकारीलाई कार्यालयमा स्वागत गर्दै उनले निवर्तमान अध्यक्ष कमल थापासँग धेरै विषयमा छलफल भएको र छलफलका क्रममा देखिएका केही विषयलाई चाँडै टुंगोमा पुर्‍याइने उल्लेख गरेका थिए । राप्रपाका कार्यकर्ता र शुभेच्छुकलाई निराश नबनाउने भन्दै उनले चाँडै सकारात्मक सन्देश प्रभाव गर्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !