१४ बैशाख २०८१, शुक्रबार

पूर्वमाओवादीहरूबीच पार्टी एकताका लागि सीपी गजुरेलले राखे यस्ता शर्तहरु


सीपी गजुरेल

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरूबीच पार्टी एकताको लागि केही शर्तहरु राखेका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको तर्फवाट शुभकामना दिंदै नेता गजुरेलले पुराना माओवादीहरू एक हुनुपर्ने बताएका हुन् ।

नेता गजुरेलले पुराना माओवादीहरूवीच पार्टी एकताको लागि उपयुक्त वातावरण बनाउन लाग्नुपर्ने बताएका हुन् । उनले माओवादीहरू एक हुने भए माओवादी केन्द्रको महाधिवेशनबाट केही आधारहरू तयार पारेर पारित समेत गर्नुपर्ने बताएका छन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेता गजुरेलले एकताका विषयमा बहस चलाउनका लागि पहिले केही शर्तहरू पूरा हुनुपर्ने बताउदै उनले जनयुद्ध शुरु गर्नुपूर्व गरिएको प्रतिबद्धता पुनः स्मरण गर्नुपर्ने माग गरेका हुन् ।

उनले पूर्वमाओवादीहरूबीच पार्टी एकताको लागि जनयुद्ध शुरु हुनभन्दा अघिको केन्द्रीय समिति बैठकमा बयक्त गरिएका प्रतिबद्धतालाई पुनर्स्थापित गर्नुपर्ने शर्त राखेका छन् । उनले पूर्वमाओवादीहरूले बिगतमा राखेको जुन अधुरो र अपूरो लक्ष्यअनुसार नेपाललाई जनगणतन्त्र बनाउनका लागि अघि बढेर सो कार्यक्रम पास गर्न शर्त राखेका छन् ।

उनले राष्ट्रिय स्वाधिनताका विषयमा केही महत्वपूर्ण निर्णय लिएर एमसीसी खारेज गर्न जोड लगाउनुपर्ने शर्त राखेका छन् । उनले गुमाएका भू-भाग नक्सामा राखेपनि वास्तविक रुपमा हासिल गर्ने नसकेकोले कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत नेपालले गुमाएका सबै भूभाग फिर्ता गर्नका लागि लाग्न शर्त राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !