१५ बैशाख २०८१, शनिबार

काँग्रेस सभापतिमा देउवालाई निधि, सिंह र गुरुङको पनि समर्थन


देउवा, सिंह, निधि, कोइराला, गुरुङ र न्यौपाने फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी बिमलेन्द्र निधिले समर्थन गर्ने भएको छ ।

नेता निधिले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले आज बिहान टेलिफोन गरेर र आफ्नै निवासमा आएर आफूलाई समर्थन गर्नका लागि गरेको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन् ।

पहिलो चरणको निर्वाचनमा आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणको मतदानमा सभापति पदमा देउवालाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अनुरोध गरेका छन् । उनले १४औँ महाधिवेशनमा सभापति पदका लागि हिजो भएको निर्वाचनमा आफूलाई साथ दिने साथीहरु र आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरुप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुन लागेको हो । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । आजै साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

गृहमन्त्री खाँणको पहलमा सभापतिमा देउवालाई सिंहले सघाउने

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि हुने दोस्रो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी प्रकाशमान सिंहले प्रधानमन्त्री तथा सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई सघाउने भएका छन् ।

कांग्रेस सभापतिका लागि पहिलो चरणमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । दोस्रो चरणमा पहिलो र दोस्रो मत ल्याएका उम्मेदवार वर्तमान सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच प्रतिष्पर्धा हुँदैछ ।

गृहमन्त्री खाँण र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रमुख वीरबहादुर बलायर आज बिहान सभापतिका प्रत्यासी सिंहलाई भेट्न सिंह निवास चाक्सीबारीमा सिंहलाई मिलेर अघि बढ्ने र पार्टीलाई सशक्त बनाउने प्रस्ताव राख्नु भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

उनीहरुको सो प्रस्ताव सुनेपछि सिंहले आफूले आफ्ना टिमका साथीहरूसँग छलफल गरेर देउवालाई समर्थन गर्ने बताउनुभएपछि प्रधानमन्त्री देउवा सिंह निवास चाक्सीबारीमा पुगेर सहमति गर्नुभएको हो । नेता सिंहले पत्रकारहरूको कुराकानीमा दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने बताइसकेका छन् ।

सभापतिमा देउवालाई अर्का प्रत्यासी गुरुङको पनि समर्थन

सभापतिका प्रत्यासी रहनुभएका कल्याण गुरुङले पनि सभापतिमा देउवालाई समर्थन गर्ने बताउनुभएको छ । पहिलो चरणको निर्वाचनमा गुरुङले २२ मत प्राप्त गरेका थिए ।

उनले आाफ्ना मतदातासँग आजै बिहान छलफल गरी पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेको बताए । यसअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंहले देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !