१८ असार २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले प्रश्न उठाए, मोदीले दिए यस्तो जवाफ


oli

२५ चैत, काठमाण्डौ । द्विपक्षीय वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली व्यापार सम्झौता (साफ्टा) को बुँदा पनि कार्यान्वयन नभएको हुँदा नेपाललाई अप्ठ्यारो परेको धारणा राखेका थिए ।

ओलीको धारणा सुनेपछि भारतीय समकक्षी नरेन्द्र मोदीको जवाफ थियो, ‘म गम्भीर छु, वाणिज्यसचिवस्तरीय बैठक बसेर सबै विषयमा समाधान खोजौं, म सम्बद्ध अधिकारीलाई निर्देश गर्छु ।’

नेपालले महाकाली सन्धिअनुरुप डेढ किलोमिटर लिंकरोड बन्न नसकेको विषय पनि राखेको थियो । ‘२० वर्षमा डेढ किलोमिटर पनि सडक बनेको छैन भन्ने विषयले कस्तो सन्देश जान्छ होला महामहिमज्यू ?’ प्रधानमन्त्री ओलीले प्रश्न थियो ।

मोदीको जवाफ थियो, ‘म तुरुन्तै उत्तराखण्ड सरकारसँग कुरा गर्छु र आवश्यक निर्णय लिन्छु । तपाईले राख्नुभएको विषयमा म साँच्चै गम्भीर छु ।’

नेपाल प्रहरी एकेडेमी निर्माण नभएकोमा पनि नेपालले चासो राखेको थियो । ओलीको भनाइ थियो, ‘दैनिक २६ किलोमिटर सडक निर्माण गरिरहेको भारतले नेपालको प्रहरी एकेडेमी बनाइदिने कुरा अत्यन्तै सामान्य हो । समयलाई बाधक बन्न दिनुहुँदैन ।’

त्यसमा मोदीको जवाफ थियो, ‘गृहसचिवस्तरीय संयन्त्रलाई सक्रिय बनाएर यो परियोजना कार्यान्वयन गरौं, भारत सहयोग गर्न तयार छ ।’

प्रधानमन्त्री ओलीले नदीको प्राकृतिक बहाव रोकिँदा गरिब नेपाली डुबानमा पर्दै आएको र यसको समाधान आगामी वर्षाअघि नै गर्ने गरी पहल लिनुपर्ने बताएका थिए ।

मोदीले सम्बद्ध संयन्त्रलाई सक्रिय बनाएर त्यसको समाधान चाँडो खोज्ने प्रतिवद्धता जनाए । –नयाँ पत्रिका दैनिकवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !