२३ बैशाख २०८१, आइतबार

एमसीसी टुंगो लगाउन अमेरिकीद्वारा मंसिर २८ को अल्टिमेटम, नभए अन्यत्र लैजाने चेतावनी


प्रचण्ड र डोनाल्ड लु

काठमाडौँ । अमेरिकीले नेपाललाई एमसीसी टुंगो लगाउन मंसिर २८ गतेसम्मको अल्टिमेटम दिएको छ । यो समयसीमा भित्र टुंगो नलगाए अन्यत्र लैजाने समेत चेतावनी अमेरिकीले दिएको छ ।

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता नेपालले लिने कि नलिने भन्ने यही मंसिर २८ गतेसम्म टुंगो गर्न समयसीमा दिएका हुन् ।

सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको शुक्रबारको भेटमा सहायक विदेशमन्त्री लुले समयसीमा तोकेर एमसीसीबारे निर्णय गर्न भनेका हुन् । यद्यपि भेटमा प्रचण्डले स्पष्ट जवाफ नदिएको बताइएको छ ।

उनले विदेशीहरू सहयोग लिने विषयमा नेपाल सकारात्मक नै रहेको तर एमसीसी सम्झौता कागजातका कारण नेपालमा अहिले बहस चलिरहेको बताएका थिए । प्रचण्डले पहिले भएको सम्झौतामा पछि संसदीय अनुमोदनको कुरा जोडिएपछि नेपालमा बहस चलेको बताएका थिए ।

यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र लुबीच आज सिंहदरबारमा शिष्टाचार भेटघाट भएको थियो । आज शुक्रबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा लुको प्रतिनिधिमण्डलसँग ओलीको भेटघाट भएको हो ।

भेटका क्रममा अमेरिकी सहायकमन्त्री लूले एमसीसी ढिलाइबारे अध्यक्ष ओलीलाई जिज्ञासा राख्दै पार्टीको आधिकारिक धारणा सोधेको एमाले स्रोतले बतायो । जवाफमा ओलीले आफ्नो दल सरकारमा नभएकाले एमसीसीबारे स्पष्ट पोजिसन नरहेको र सरकारले पनि यसबारे आफूहरुसँग कुनै परामर्श नगरेको बताएका थिए ।

त्यस्तै लुले आजै गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए । सबै भेटघाटमा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरुबारे छलफल भएको थियो । नेपाल भ्रमणमा रहेका लु शुक्रबार राजनीतिक भेटघाटमा व्यस्त भए । भेटघाटमा उनले एमसीसीको मुद्दालाई प्राथमिकता साथ उठाएका छन् ।

यसअघि हिजो बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग लुबीच भेटवार्ता भएको थियो । भेटका क्रममा लुले एमसीसी पास ढिलाइबारे जिज्ञासा राखेकोमा जवाफमा प्रधानमन्त्री देउवाले सहमतिअनुसार एमसीसी पास गरिने जानकारी गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !