७ बैशाख २०८१, शुक्रबार

धनगढी पुगेर नेपालले भने- सुर्यमा ग्रहण लागेपछि कलम रोज्नुपर्यो


माधवकुमार नेपाल

धनगढी । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुर्यमा ग्रहण लागेपछि कलम चुनाव चिन्ह रोज्नुपरेको स्पष्ट परेका छन् ।

आज धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले सूर्यमा ग्रहण लागिसकेकाले अब जनताले कलम चिन्ह रोज्नुपर्ने अवस्था आएको भन्दै नेकपा (एस) को चुनाव चिन्हको गुणगान गाएका हुन् ।

अध्यक्ष नेपालले केपी ओलीको निजी कम्पनीको रूपमा प्रयोग भएको नेकपा एमालेमा विद्रोह गरेर नेकपा (एस) पार्टी खोलेको बताउँदै आफ्नो पार्टीले कलम चिन्ह पाएको बताए ।

उनले आफूहरुले ठुलो त्याग र बलिदान गरेको पार्टीलाई फुटाउने र संस्थापनलाई लात हानेर हटाउने ओलीको प्रवृत्तिका विरुद्ध विद्रोह गरेर नयाँ पार्टी खोलेको प्रष्ट पर्दै ओलीजीले एक्लै सरकार र पार्टी चलाउन खोजेर निरंकुशता हावी गर्दै तानाशाही बन्न खोजेकोले यस्ता प्रवृत्ति हाबी हुन नदिन नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेको उनको भनाइ छ ।

नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । सर्वोच्चमा उत्पन्न विवादको विषयमा मुख खोल्दै नेपालले महाभियोगको विषयमा पाँच दलीय गठबन्धनमा कुनै छलफल नभएको बताएका हुन् ।

नेपालले संसद् विघटनविरुद्धको मुद्दामा ‘परमादेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने’ भन्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अनुचित भएको बताएका छन् । नेपालले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउने कुरा न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न नदिने, हस्तक्षेप गर्ने, निरंकुशता चाहने केपी ओलीको खेल भएको आरोप लगाए ।

उनले ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरूलाई हटाउनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताउदै ओलीले रिस साँध्नका लागि त्यस्तो अभिव्यक्ति दिएको उनको भनाइ रहेको छ । उनले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्न नहुनेमा जोड दिंदै प्रधान्यायाधीशलाई महाअधियोग लगाउने विषयमा सत्ता गठबन्धनमा कुनै समेत छलफल नभएको भन्दै जबराको बचाऊ गरेका हुन् ।

सर्वोच्चमा उत्पन्न विवादका विषयमा सत्तारुढ राजनीतिक दलहरुले अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक नगरेको भने आलोचना भईरहँदा नेपालले यस्तो बताएका हुन् । सर्वोच्चमा उत्पन्न विवाद चर्कन थालेको एक साता बित्न लाग्दा पनि सत्तारुढ गठबन्धनको बैठक समेत बस्न सकेको छैन ।

उनले पाँचदलीय गठबन्धनलाई चुनवासम्म कायम राख्ने पनि दावी गरे । उनले आगामी दिनमा हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा ५ दलीय गठबन्धनबीच सहकार्य हुने पनि स्पष्ट पारे ।

यो पनि पढ्नुहोस्

मुख खोल्दै नेपालले भने- प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने योजना छैन

देउवा एक हप्ता बेलायततिर बरालिने, अदालतको विवाद आफै सम्हालिने

परमादेश दिने सबै न्यायाधीश हटाउनुपर्छ भन्ने ओलीको भनाई गैरजिम्मेवारीपन

ओलीले मागे चोलेन्द्रसहित परमादेश दिने अन्य न्यायाधीशको राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !