७ बैशाख २०८१, शुक्रबार

बाग्मतीमा राजेन्द्र पाण्डे भोलि मुख्यमन्त्री बन्दै, यी नयाँ बन्न लागेका मन्त्रीहरु


राजेन्द्र पाण्डे फाइल फोटो

मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् ।

बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार अपरान्ह ३ बजेभित्र प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको लागि दाबी पेश गर्न आज आह्वान गरेसँगै बुधबार नै पाण्डेले दावी पेश गरेका हुन् ।

पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस) सहितका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । आज बुधबार मात्रै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै पाण्डे नयाँ मुख्यमन्त्री नियुक्ति हुन लागेका हुन् ।

बागमतीमा पाण्डे भोलि मुख्यमन्त्री बन्ने निश्चित भएसंगै अव को को नयाँ मन्त्रीहरु बन्दैछन् भनेर चासो बढेको छ । पहिलो चरणमा मुख्यमन्त्रीमा पाण्डेसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार हुने भएको छ ।

मुख्यमन्त्रीमा पाण्डेसँगै कांग्रेस स‌सदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान र नेकपा (एस) का उपनेता कृष्ण खनाल मन्त्री बन्ने बुझिएको छ । कांग्रेस बागमती प्रदेशसभा एक सदस्यका अनुसार मन्त्रालय भागवण्डाको विषयमा पनि टुंगो लागिसकेको उनले बताए ।

उनका अनुसार मन्त्री र मन्त्रालयको विषय पनि टुङ्ग्याइसकेकोले भोलि मुख्यमन्त्री पाण्डेसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार हुने उनले बताए । नयाँ बन्न लागेको मन्त्रिमण्डलमा माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयमा पाउने स्रोतले जानकारी बताएको छ ।

अन्य मन्त्रालयमा टुंगो भने मुख्यमन्त्रीले संसद्‌मा विश्वासको मत लिएपछि लाग्ने बताइएको छ । तिहार लगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिने र सरकार विस्तार गरिने बुझिएको छ ।

बागमती प्रदेशमा हाल रहेका ८ वटा मन्त्रालयमा गठबन्धन दलबीच भागबण्डा मिलाउन मन्त्रालय फुटाएर ११ अथवा १३ मन्त्रालय बनाउने विषयमा छलफल जारी रहेको बुझिएको छ । १३ मन्त्रालय बनाउँदा कांग्रेस र माओवादीले ५/५ वटा मन्त्रालय लिने र समाजवादीलाई ३ मन्त्रालय दिने विषयमा गठबन्धनबीच आपसी समझदारी भएको छ ।

गठबन्धनमा भएको सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् । यसरी पहिला एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।

यो पनि पढ्नुहोस्

बाग्मतीमा ५९ सांसदसहित राजेन्द्र पाण्डेले गरे मुख्यमन्त्रीमा दावी पेश

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !