४ बैशाख २०८१, मंगलबार

बाग्मतीमा ५९ सांसदसहित राजेन्द्र पाण्डेले गरे मुख्यमन्त्रीमा दावी पेश


राजेन्द्र पाण्डे फाइल फोटो

मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् ।

बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार अपरान्ह ३ बजेभित्र प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको लागि दाबी पेश गर्न आज आह्वान गरेसँगै बुधबार नै पाण्डेले दावी पेश गरेका हुन् । पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस) सहितका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

बाग्मतकी मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुख शर्मा समक्ष लिखित राजीनामा बुझाएकी थिइन् ।

एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् ।

गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् । यसरी पहिला एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !