११ बैशाख २०८१, मंगलबार

कर्णालीमा पनि गठबन्धनमा किचलो : कात्तिक १५ पछि काँग्रेसले खोज्यो मुख्यमन्त्री

जीवन शाहीले भने- कात्तिक १५ पछि मेरो मुख्यमन्त्री हुने पालो


जीवनबहादुर शाही

सुर्खेत । सत्ता गठबन्धनमा रहेका दलहरुवीच संघीय सरकारमा कुर्सीको लागि उत्पन्न भएको किचलो नसेलाउदै प्रदेशमा पनि जताततै भागबण्डा र आलोपालोको विषयले किचलो शुरु भएको छ ।

बागमती प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएर साम्य भएलगत्तै प्रदेश नम्बर १ उक्त रोग बल्झिएको थियो । प्रदेश १ को प्रदेशसभा बैठक नबसी कात्तिक १५ गतेसम्म स्थगित गरिएपछि उक्त किचलो केही दिनको लागि मत्थर भएको छ ।

यसैवीच अव कर्णाली प्रदेशमा पनि सत्ता सहकार्यको विषयलाई लिएर सत्ता गठबन्धनमा किचलो भएको छ । कर्णाली प्रदेशको नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कात्तिक १५ पछि आफू मुख्यमन्त्री हुनुपर्ने अडान राखेपछि किचलो उत्पन्न भएको हो ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार रहेका शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताएका छन् । उनले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने जिकिर गरेका हुन् । गत वैशाख २ गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालीन एमाले नेता प्रकाश ज्वालाबीच लिखित सम्झौता भएका कारण आफू नै मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गरे ।

केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली काँग्रेसले नपाउने भन्ने चर्चा भइरहेका बेला रासससँगको कुराकानीमा शाहीले भने, “माओवादीबाट धोका हुँदैन भन्ने विश्वासमा छु ।”

नेता शाहीले मुख्यमन्त्रीसँग भेटघाट भइरहेको र यस विषयमा सकारात्मक परिणाम आउने बताए । “सम्झौताको समय आउन अझै बाँकी छ त्यसैले अहिले किन हतार गर्ने ”उनले भने, “अहिले विभिन्न अनलाइन र मिडियामा आएको कुराले नागरिकमा चासो हुनु स्वभाविकै हो । उहाँहरुले बेइमान गर्नुहुन्छ भन्ने पटक्कै लाग्दैन र गरेका दिनमा देखाजाएगा ।”

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसको सहयोग लिएका थिए। विश्वासको मत लिँदै गर्दा उनले काँग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत भएको थियो । मुख्यमन्त्री शाहीको समयावधि सकिन लागेकाले नेता शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको बताए ।

यसरी संघीय सरकारमा सत्ताको लागि भागबण्डा गरेर गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) पार्टीले प्रदेश सरकारमा पनि सत्ताको लागि मोलमोलाई गर्न छोडेका छैनन् । सत्ता सहकार्यको उद्धेश्य जताततै बाडीचुडी खाने रणनीति देखिन्छ ।

विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सत्ताको लागि कुर्सी नछोडेको भनेर कुरा आलोचना गरेका तिनै दलका नेताहरु अहिले सत्ताको लागि लुछाचुडी गरिरहेका छन् । हेर्दा लाग्छ उनीहरु जनताको लागि होइन सत्ताको लागि मात्र राजनीति गरेजस्तो छर्लंग देखिएको छ ।

प्रदेशमा राजनीतिक भागबण्डा र आलोपालो गरेर सरकारको नेतृत्व गर्ने सहमति गर्दै सत्ता गठबन्धनका दलहरु व्यस्त छ । देशको विकास र जनताको जीवनस्तर उठाउने बारेमा सोच्ने उनीहरुलाई पटक्कै फुर्सद छैन ।

यो पनि पढ्नुहोस्

प्रदेश १ मा गठबन्धनवीच किचलो : मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने कांग्रेसको माग

आलोपालो सरकारको नेतृत्व : वाग्मतीमा पहिला पाण्डे र पछि बानियाँ मुख्यमन्त्री बन्ने

बागमतीमा गठबन्धनवीच नै किचलो : काँग्रेसका बानियाँले पनि गरे मुख्यमन्त्रीमा दाबी

प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !