४ जेष्ठ २०८१, शुक्रबार

प्रचण्डको निष्कर्ष : एमालेसँग प्रतिवाद नगरी चुनाव जित्न सकिँदैन


प्रचण्ड र केपी ओली

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग प्रतिवाद नगरी आगामी चुनाव जित्न नसकिँने निष्कर्ष निकालेका छन् ।

पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् । प्रचण्डले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै नयाँ रणनीति अपनाएर उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने स्पष्ट पारेका हुन् ।

उनले अवको डेढ वर्ष एमाले गणतन्त्र विरोधी, संघीयता विरोधी रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउदै ओलीसँग नयाँ मुडभेडको लागि तयार हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

त्यसो गरेमा मात्र एमाले जस्तो जाली, फटाहा भएको पार्टी थरर्र काम्ने र जनताले आफ्नो पार्टीलाई निर्वाचन जिताउने उनले दावी गरे । उनले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिए ।

प्रचण्डले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढनुपर्ने तर्क समेत गर्दै केपी ओली एक्लै केही नभएको पनि बताए । उनले ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेर्डक्वाटरमै बमबारी गर्नु परेको दोहोर्याए ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताए । उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया समेत दिए ।

उनले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहोर्‍याए । तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गर्नु परेको उनको भनाई थियो ।

यो पनि पढ्नुहोस्

प्रचण्डले भने- नेपालमा एउटै मात्रै कम्युनिष्ट पार्टी हुनुपर्छ

एमालेले माओवादीका युवालाई भौतिक आक्रमणको योजना बनाएको प्रचण्डको खुलासा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !