२ असार २०८१, शनिबार

विपक्षी पाँच दलको एउटै माग : सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्छ


संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलको छलफल जारी

काठमाडौँ । विपक्षी पाँच दलहरु सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा एकमत देखिएका छन् । आज शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिए ।

यस्तै बैठकले हिजो बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे उनलाई नै भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको थापाले जानकारी दिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो । तर, बैठकमा प्रतिपक्षमा रहेको सीके राउत नेतृत्वको जनमत पार्टी भने उपस्थित थिएन ।

कांग्रेसले अवरोध गरेपछि हिजो विहीबार स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आज बस्ने गरी स्थगित गरेका थिए । आज बिहान ११ बजे बस्ने भनिएको पूर्वनिर्धारित बैठक आज दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिनिधिसभाको हिजो अपराह्न बसेको बैठकमा कांग्रेस र सत्ता साझेदार दल नेकपा (एमाले) का सांसदहरुबीच धकेलाधकेल भएको थियो । सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबीच तनाव सिर्जना भएर धकेलाधकेल भएको थियो ।

सहकारी प्रकरणबारे गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसको माग राख्दै आएको छ भने सत्ता पक्षले उक्त समिति आवश्यक नरहेको बताउदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !