२६ बैशाख २०८१, बुधबार

बालकोट पुगेका कानुनमन्त्री कार्कीलाई ओलीले पठाए देउवालाई यस्तो सन्देश


केपी शर्मा ओली र ज्ञानेन्द्र बहादुर कार्की फाइल फोटो

काठमाडौं । देउवा सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बलकोट पुगेर भेटेका छन् ।

प्रधानमन्त्री देउवाको दूतको रुपमा ओलीलाई भेट्न कार्की आज विहान गरी अहिलेसम्म तेस्रो पटक बालकोट पुगेका हुन् । ओलीले मन्त्री कार्कीमार्फत राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी र खारेजीमा आफ्नो गम्भीर आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री देउवालाई ओलीले पठाएका सन्देश ओलीको सचिवालयबाट रामशरण बजगाईले प्रेस नोटमार्फत सार्वजनिक गरेका छन् । उक्त प्रेस नोटमा अध्यादेश खारेजीको ओलीले चर्को विरोध गरेको उल्लेख छ । ओलीले कानुन मन्त्रीसँगको भेटमा उनीमार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाएको उनले बताएका छन् ।

ओलीले प्रधानमन्त्री शेरवहादुर देउवालाई दल विभाजन सम्बन्धी अध्यादेश जारी र खारेजी दुवै गैरकानूनी तथा असंवैधानिक रहेको यस्ता कुराले सरकार र प्रतिपक्षको सम्बन्ध राम्रो नहुने भन्दै चेतावनीपूर्ण भाषामा सन्देश पठाएका छन् ।

यस्तो छ देउवालाई ओलीले पठाएको सन्देश

सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ ।

चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो ।

अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन ।

संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने हो । तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।

यस्तो अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीसँगको भेटमा उहाँ मार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाउनु भयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !