२१ बैशाख २०८१, शुक्रबार

१० बुँदे सहमतिबारे निर्णय गर्न एमाले स्थायी समिति बैठक बस्दै


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० बुँदे सहमतिबारे निर्णय गर्न स्थायी समिति बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठक हिजो आइतबार समापन भएको थियो । आज बस्न लागेको बैठकमा पार्टीका उपाध्यक्ष सात जना बनाउनुपर्ने केन्द्रीय कमिटीका सदस्यहरुको मागमाथि छलफल हुने बताइएको छ ।

हिजो बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष थप्ने प्रस्ताव सकारात्मक रहेको भन्दै सोबारेमा स्थायी कमिटीमा छलफल गर्ने र विधान महाधिवेशनमा पुग्दा निर्णयमा पुग्ने बताएका थिए ।

१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि हिजो बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सोबारे छलफल गर्न आज सोमबार स्थायी समिति बैठक बोलाएको जानकारी दिएका थिए ।

यसअघि पार्टी उपाध्यक्ष भीम रावल लगायतले १० बुँदे कार्यान्वयनमा समस्या आएको भन्दै यसबारे केन्द्रीय समिति बैठकमा छलफलको एजेण्डा बनाउन माग गरेका थिए । आज बस्ने बैठकमा असोज १५ गतेदेखि १७ गतेसम्मका लागि निर्धारित विधान महाधिवेशनको विषयमा पनि छलफल हुनेछ ।

हिजो सम्पन्न भएको बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित ३ वटा दस्तावेजमा छलफल भई छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको थियो । एमालेको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले तीनवटा प्रस्ताव राखेका छन् । भुसालले हिजो केन्द्रीय कमिटी बैठकमा आफ्नो फरक मतका रूपमा तीनबुँदे प्रस्ताव राखेका थिए ।

उनको एउटा प्रस्ताव अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चालेको कदमलाई असंवैधानिक भनेर निर्णय गराउने भन्ने रहेको छ । उनले जबजको व्याख्या पनि स्पष्ट रूपमा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

योसँगै एमाले बैठकमा संसद् विघटनलाई संविधानविपरीत भन्ने प्रस्ताव औपचारिक रूपमा प्रवेश गरेको छ । यसअघि बैठकमा अध्यक्ष ओलीले संसद् विघटन ठिक भएको बताएतापनि भुसालले ओलीले बोलेपछि मौखिक रूपमा आफ्नो कुरा राखेका थिए ।

यो पनि पढ्नुहोस्

एमाले बैठकमा ओलीको प्रतिवेदनमा घनश्यामको तीन बुँदे फरक प्रस्ताव

१० बुँदे सहमतिबारे स्थायी समितिले निर्णय गर्ने गरी एमाले बैठक समापन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !