२० बैशाख २०८१, बिहिबार

१० बुँदे सहमतिबारे स्थायी समितिले निर्णय गर्ने गरी एमाले बैठक समापन


एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अस्ति शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठक १० बुँदे सहमतिबारे स्थायी समितिले निर्णय गर्ने गरी आज आइतबार समापन भएको छ ।

बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित ३ वटा दस्तावेजमा छलफल भई छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको हो । एमालेको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले तीनवटा प्रस्ताव राखेका छन् । भुसालले आज केन्द्रीय कमिटी बैठकमा आफ्नो फरक मतका रूपमा तीनबुँदे प्रस्ताव राखेका हुन् ।

उनको एउटा प्रस्ताव अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चालेको कदमलाई असंवैधानिक भनेर निर्णय गराउने भन्ने रहेको छ । उनले जबजको व्याख्या पनि स्पष्ट रूपमा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

योसँगै एमाले बैठकमा संसद् विघटनलाई संविधानविपरीत भन्ने प्रस्ताव औपचारिक रूपमा प्रवेश गरेको छ । यसअघि बैठकमा अध्यक्ष ओलीले संसद् विघटन ठिक भएको बताएतापनि भुसालले ओलीले बोलेपछि मौखिक रूपमा आफ्नो कुरा राखेका हुन् ।

१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि आज बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सोबारे छलफल गर्न भोलि सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको जानकारी दिएका छन् ।

यसअघि पार्टी उपाध्यक्ष भीम रावल लगायतले १० बुँदे कार्यान्वयनमा समस्या आएको भन्दै यसबारे केन्द्रीय समिति बैठकमा छलफलको एजेण्डा बनाउन माग गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !