५ जेष्ठ २०८१, शनिबार

राष्ट्रियसभाद्वारा संशोधित बजेटका दुई विधेयक स्वीकृत


राष्ट्रियसभा

काठमाडौं । राष्ट्रियसभाको आज बसेको दोस्रो वैठकले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नयाँ बजेटसँग आश्रित दुई विधेयक स्वीकृत गरेको छ । वैठकले ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ स्वीकृत गरेको हो ।

वैठकमा अर्थमन्त्री जनार्दन शर्माले ती दुई विधेयकमाथि विचार गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए । दुबै प्रस्तावलाई वैठकको बहुमतले स्वीकृत गरेको हो । नयाँ बजेटसँग आश्रित यी विधेयकहरु माथिको दफावार छलफलका लागि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले असोज ११ गतेका लागि तोकेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले राष्ट्रिय सभाको आजको दुबै बैठकमा उभिएर विरोध जनाएका थिए । दुबै बैठक शुरु हुने वित्तिकै एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिना एमालेका राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए ।

मुख्य सचेतक भट्टराईले दुबै बैठकमा आफूहरुको माग सम्बोधन भई नसकेकाले विरोध कायमै रहेको बताएका थिए । पार्टी अनुशासन विपरित काम गरेको भन्दै एमालेले आफ्ना १४ सांसदलाई कारबाही गरेकोमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुको कारबाही प्रक्रियालाई अगाडि नबढाएको भन्दै अधिवेशन प्रारम्भ भए देखि नै दुबै सदनमा विरोध जनाउँदै्र आएको छ ।

राष्ट्रियसभाको आजको पहिलो बैठकमा भने प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त दुई विधेयक टेबुल गरिएको थियो । वैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८’ टेबुल गरेका हुन् ।

प्रतिनिधि सभाको हिजो विहिबारको वैठकले उक्त दुई विधेयकलाई पारित गरी राष्ट्रिय सभामा पठाएको हो । ‘बिनियोजन विधेयक, २०७८’ का आश्रित यी दुई विधेयकलाई पनि राष्ट्रिय सभाले पारित गरेपछि संघीय संसदबाट पूर्ण बजेट पारित हुनेछ ।

पहिलो बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक, २०७८’लाई प्रमाणिकरण गरी पठाइएको सम्वन्धी प्राप्त पत्र पढेर सुनाएका थिए । राष्ट्रियसभाको अर्को वैठक असोज ११ गते विहान ११ बजेका लागि बोलाइएको छ ।

यो पनि पढ्नुहोस्

दुई विधेयक टेबुल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !