२६ बैशाख २०८१, बुधबार

सत्ता गठबन्धन भत्किने संकेत : नेपाल निकट विद्यार्थीले जलाए गृहमन्त्रीको पुत्ला


नेपाल निकट विद्यार्थीले जलाए गृहमन्त्रीको पुत्ला

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर सत्ता गठबन्धन खटपट शुरु भएसंगै सत्ता गठबन्धन भत्किने संकेत देखिन थालेको छ ।

एमसीसी पारित गर्ने योजनासहित संसद् अधिवेशन आह्वान गरिएको भनिएतापनि सत्तारूढ गठबन्धन दलकै कतिपय नेताहरूले सम्झौता पारित गर्ने विषयमा आफूसँग छलफल नगरिएको यसअघि नै बताएका छन् ।

अमेरिकाले नेपालको सडक र विद्युतीकरणको परियोजनाका लागि प्रस्ताव गरेको झन्डै ६० अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान सम्झौता सांसदबाट पारित गर्ने तयारी देउवा सरकारले गरेको छ । यद्यपि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका दलहरूबीच छलफल गरेर मात्रै एमसीसी अघि बढाउने बताएका छन् ।

अनुदानका लागि राखिएका कतिपय सर्तबारे विभिन्न दलका नेताले प्रश्न गरिरहेका बेला एमसीसीबारे थप प्रष्ट गर्न अर्थ मन्त्रालयले अमेरिकी पक्षलाई पत्राचार गरेको छ । तर प्रमुख सत्तारुध दल नेकपा माओवादी केन्द्रका केही नेताहरुले आफूहरूसँग एमसीसी पारित गर्नेबारे कुनै छलफल नभएको बताएका छन् ।

सरकारले अमेरिकी पक्षलाई गरेको पत्राचार यथास्थितिमा एमसीसी पारित नहुने माओवादीले सङ्केत गरेको छ । एमसीसी सम्झौता संशोधन गर्न अमेरिका तयार नभए एमसीसी पारित नहुने देखिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पर्सी भदौ २३ गतेबाट संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेसँगै एमसीसीको बहस फेरि सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरूकै समर्थनमा प्रधानमन्त्री बनेको भए तापनि एमसीसी सम्झौता पारित गर्ने पहल गरेको भन्दै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीले एमसीसी सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै चर्को बिरोध पनि गरेका छन् ।

प्रदर्शनमा ‘गृहमन्त्री राजीनामा दे, एमसीसी खारेज गर, भारतीय विस्तारवाद मुर्दावाद, राष्ट्रघाती सम्झौता खारेज गर, सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे’ भन्दै नाराबाजी गरिएको थियो । प्रदर्शनमा नाराबाजीसहित एमसीसी सम्झौताको पनि चर्को विरोध गरिएको थियो ।

साथै नेपाल निकट विद्यार्थी युनियनका विद्यार्थीले गृहमन्त्री बालकृष्ण खाणको पुत्ला दहन गरेको छ । नेपालनिकट विद्यार्थी संगठनले गृहमन्त्री खाणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी भारतको विरोध नगर्न विज्ञप्ति जारी गरेको भन्दै सोमवार पुत्ला दहन गरेको हो ।

अनेरास्ववियु विश्वविद्यालय राष्ट्रिय कमिटीहरूको आयोजनामा नेपाल कमर्श क्याम्पस मीनभवनमा गृहमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरिएको छ । केहीदिनअघि गृहमन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

यसैवीच प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता समेत रहेका सांसद गगन थापाले आफ्नै पार्टीको सरकारले एकपछि अर्को गलत निर्णय गर्न थालेको आरोप लगाएका छन् ।

आज सोमबार काठमाडौंमा कांग्रेस सिन्धुपाल्चोक-२ द्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले जयसिंह धामीदेखि सडकमा बोल्न नपाउनेजस्ता गलत निर्णय गर्न थालेकोले निन्द्रामा रहेको देउवा सरकारलाई झकझकाउने उचित समय आएको उनले बताए ।

यो पनि पढ्नुहोस्

देउवा सरकारप्रति गगनको आलोचना : एकपछि अर्को गलत निर्णय गर्न थाल्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !