१३ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशमा पनि एमालेका ३ जना सांसदले रोजे नेकपा (एस)


कर्णाली प्रदेशसभा

सुर्खेत । कर्णाली प्रदेशका नेकपा (एमाले) बाट निर्वाचित ३ जना सांसदले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरु प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एस) पार्टीमा सनाखत गरेका हुन् ।

नेकपा एमाले छाडेर नेकपा (एस) रोज्नेहरुमा देवी ओली, चन्द्रबहादुर शाही र पदमबहादुर रोकाया रहेका छन् । कर्णाली प्रदेशका प्रदेशसभा सांसदहरु ओली र शाही नेकपा (एस) को केन्द्रीय समितिमा समेत रहेका छन् ।

अझै ३-४ जना एमाले सांसदले नेकपा (एकीकृत समाजवादी) रोज्ने बुझिएको छ । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस गरेका एमालेका ४ सांसदहरु हाल पदमुक्त भएपनि उनीहरु नेकपा (एस) प्रदेश कमिटीमा आवद्ध भइसकेका छन् ।

कर्णाली प्रदेश प्रदेशसभामा एमालेका २० सांसद थिए । पदमुक्त भएका ४ जना र दल विभाजन भएपछि नेकपा एमालेका ३ सांसदले नेकपा (एस) रोजेपछि प्रदेशसभामा एमाले सांसदको संख्या १३ जनामा झरेको छ । यद्यपि कर्णाली एमाले संसदीय दलमा विवाद हुँदा नेपाल पक्षमा ९ सांसद खुलेका थिए ।

एमालेको आन्तरिक विवादको समयमा नेपाललाई साथ दिँदै आएका सुशील थापा, दल रावल र करवीर शाही भने एमालेमै रहने भएका छन् । नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही संस्थापन पक्षमा देखिएका छन् भने दैलेखका सुशील थापाले अझैसम्म कित्ता प्रष्ट गरिसकेका छैनन् ।

यसअघि निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) का तर्फबाट निर्वाचित जनप्रतिनिधिले दल रोज्न पाउने समयसीमा दिएको थियो ।

आयोगले दल दर्ताका लागि निवेदन दिएको मिति भदौ २ गतेदेखि २१ दिनभित्र अर्थात् भदौ २२ गतेभित्र यी दुवै पार्टीका प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यले निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रदेश १ मा एमालेका १० सांसदले रोजे नेकपा (एस)

सुदूरपश्चिममा पनि एमालेका १० सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

भदौ २२ गतेसम्म एमाले र जसपाका जनप्रतिनिधिलाई दल रोज्न आयोगको निर्देशन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !