१४ बैशाख २०८१, शुक्रबार

वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)


राजेन्द्र पाण्डे फाइल फोटो

काठमाडौं । वाग्मती प्रदेशका नेकपा (एमाले) बाट निर्वाचित १२ जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आज प्रदेश निर्वाचन कार्यालय हेटौँडामा १२ जना सांसद सनाखतका लागि उपस्थित भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

उनका अनुसार राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनालको सनाखत भएको छ ।

अन्य प्रदेश सदस्यहरूको भने भोलि सनाखत हुने उनको भनाइ छ । यसअघि निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) का तर्फबाट निर्वाचित जनप्रतिनिधिले दल रोज्न पाउने समयसीमा दिएको थियो ।

आयोगले दल दर्ताका लागि निवेदन दिएको मिति भदौ २ गतेदेखि २१ दिनभित्र अर्थात् भदौ २२ गतेभित्र यी दुवै पार्टीका प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यले निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको थियो ।

प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गराउन सकिने आयोगले बताएको थियो । यसका लागि सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

देउवा सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा (एस) पार्टी बनेको थियो ।

यो पनि पढ्नुहोस्

भदौ २२ गतेसम्म एमाले र जसपाका जनप्रतिनिधिलाई दल रोज्न आयोगको निर्देशन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !