७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा पनि एमालेका १० सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)


पूर्ण जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशका नेकपा (एमाले) बाट निर्वाचित १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आज प्रदेश निर्वाचन कार्यालयमा १० जना सांसद सनाखतका लागि उपस्थित भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

उनका अनुसार पूर्ण जोशी, सुनकुमारी चौधरी, मनाकुमारी साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, अमर साउद, दुर्गा विक, माया भट्ट र लालबहादुर खड्काको सनाखत भएको छ ।

यसरी सुदूरपश्चिम प्रदेशसभाका १० जना सांसद नेकपा (एमाले) छोडेर नयाँ पार्टी नेकपा (एस) रोजेका हुन् । सुदूरपश्चिमकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीको नेतृत्वमा एमालेका सांसदले निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर सनाखत गरेका हुन् ।

५३ सदस्यीय प्रदेशसभामा एमालेका २४ सांसद निर्वाचित भएका थिए । उनीहरूमध्ये १० सांसद नेकपा (एकीकृत समाजवादी) लाई रोजेका हुन् । अब एमालेमा १४ सांसद रहेका छन् ।

एमाले नेता भीम रावल बुधबार धनगढी आउने भएपछि एकीकृत समाजवादीमा लागेका सांसदले मंगलबार नै सनाखत गरेका हुन् । नेता रावलले सांसदलाई रोक्न सक्ने आशंकामा आजै सनाखत गरिएको जनाइएको छ ।

आयोगले दल दर्ताका लागि निवेदन दिएको मिति भदौ २ गतेदेखि २१ दिनभित्र अर्थात् भदौ २२ गतेभित्र यी दुवै पार्टीका प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यले निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको थियो ।

प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गराउन सकिने आयोगले बताएको थियो । यसका लागि सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

देउवा सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा (एस) पार्टी बनेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !