२६ बैशाख २०८१, बुधबार

सभामुख सापकोटाविरूद्ध अदालत जाने एमालेको निर्णय


केपी ओली र अग्नि सापकोटा

काठमाडौँ । प्रमुख पतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नि सापकोटाविरूद्ध कानुनी उपचार खोज्ने भएको छ । आज बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीले कारवाही गरेका सांसदहरुलाई सभामुख अग्नि सापकोटाले सूचना टाँस नगरेको भन्दै कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सभामुख सापकोटाले गल्ती गरेकाले त्यसविरुद्ध एमालेले कानुनी प्रतिवादमा उत्रने निर्णय गरेको जानकारी दिए । १४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटाविरुद्ध कानूनी उपचारमा जाने निर्णय ज्ञवालीले बताए ।

यस्तै उनले सभामुखले पार्टीको पत्रअनुसार कारवाहीको सूचना टाँस नगरेर गल्ती गरेकोले सोको यथोचित कानूनसम्मत र संसदीय अभ्यास अनुसारको विरोध गर्ने निर्णय गरेको ज्ञवालीले बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो बुधबार एमालेद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरी ९ दिनसम्म थन्क्याएर दाँत टाल्न अस्पताल गएको टिप्पणी गरेका थिए । एमालेले कारवाही गरेका सांसदलाई पदमुक्त गर्ने सन्दर्भमा सूचना टाँस नगरेको भन्दै उनी सभामुखप्रति आक्रोशित भएका थिए ।

ओलीले अध्यादेश अनुसार एमाले विभाजन गराउने प्रयोजनकै निम्ति यस प्रकारको गतिविधि भएको आरोप लगाउदै आफूहरुले पार्टी नफुटोस् भनेर १४ सांसदलाई कारवाही गरेको तर कारवाहीमा परेका ती सांसद लगायतको संख्या जोडेर अध्यादेश अनुसार दल विभाजन गराउनका लागि नै सभामुखले उनीहरुलाई पदमुक्त नगरेको दावी गरेका थिए ।

उनले सभामुखको भूमिका निष्पक्ष रहन नसकेको बताउदै सम्माननीय सभामुख साझा व्यक्तित्व, निष्पक्ष रहनुपर्नेमा उहाँले सो भूमिका निभाउन नसकेको आरोप लगाए । उनले सभामुखको जिम्मेवारीमा निष्पक्ष रहन नसक्ने, कानुनको पालना गर्न नसक्ने, मर्यादामा बस्न नसक्ने कुरा लोकतन्त्र, लोकतान्त्रिक प्रणालीका लागि अत्यन्त दुःखद् रहेको बताएका थिए ।

यो पनि पढ्नुहोस्

सभामुख सापकोटामाथि खनिए ओली, यतिसम्म भन्न भ्याए !

सभामुखमाथि ओलीको कटाक्ष : १४ सांसदलाई पदमुक्त नगरी दाँत टाल्न अस्पताल जानुभयो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !