१९ बैशाख २०८१, बुधबार

एमालेले लुम्बिनी प्रदेश सरकारलाई मान्यता नदिने


लुम्बिनी मुख्यमन्त्री कुल प्रसाद केसी

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई मान्यता दिन नसक्ने स्पष्ट पारेको छ । लुम्बिनी एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभामा सोमबार ‘नाटक मञ्चन’ गरिएको भन्दै त्यस्तो नाटकबाट बनेको सरकार असंवैधानिक रहेको बताए ।

बैठक छोडेर विश्वासको मत विभाजन प्रक्रियामा सहभागी नभएको एमाले संसदीय दलले सरकारलाई वैधानिकता दिन नसक्ने बताएको हो । एमालेले आफ्ना दुई सदस्यलाई कारबाही नहुँदासम्म प्रदेश सभा बैठक चल्न नदिने अडान अझै पनि जारी रहने पनि स्पष्ट पारेको छ ।

उनले एमालेले कारबाहीको सिफारिस गरेका दुई प्रदेश सभा सदस्य पदमुक्त नहुँदासम्म प्रमुख प्रतिपक्षको हैसियतले प्रदेश सभा बैठक बहिष्कार गर्ने पत्रसहित जानकारी दिँदादिँदै पनि जबरजस्ती बैठक सञ्चालन गरेर संसदीय मर्यादा नाघेको बताए । प्रतिपक्षबिना नै लिएको विश्वासको मतको कुनै अर्थ र वैधानिक स्पष्टता नहुने एमालले जनाएको छ ।

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले हिजो प्रदेशसभावाट विश्वासको मत पाएका थिए । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्ण बहादुर घर्तीले प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत पाएको घोषणा गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अनुपस्थितीमै हिजो सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ भने १ मत भने तटस्थ देखिएको थियो ।

लुम्बिनी प्रदेशसभामा रहेका ८० जना सांसदहरुमध्ये आजको बैठकमा सभामुख घर्तीबाहेक ४३ जना उपस्थित भएका थिए भने एमालेका ३७ जना सांसदहरू अनुपस्थित भएका थिए । एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदहरु अजयबहादुर शाही र बिमला वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ ।

मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका थिए । तर प्रतिपक्ष नेकपा एमालेले सदन बहिस्कार गरेका कारण पार्टीका ‍‍‍‍‍‍३७ सांसद मत विभाजनमा उपस्थित भएनन् ।

मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९ जना, नेकपा (माओवादी केन्द्र) का १८ जना, जनता समाजवादी पार्टी (जसपा) का ३ जना, राष्ट्रिय जनमोर्चाका १ जना र सूर्य चिन्हबाट निर्वाचित एक स्वतन्त्र समूहका १ जना सांसदले मत दिएका थिए ।

यो पनि पढ्नुहोस्

लुम्बिनीका मुख्यमन्त्री केसीले प्रदेशसभावाट पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्रीले ल्याए ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर लुम्बिनी’ को नारा

लुम्बिनीमा प्रतिपक्ष एमालेको अनुपस्थितिमै मुख्यमन्त्री केसीले मागे विश्वासको मत

एमाले विरोधका बाबजुद लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !