२० बैशाख २०८१, बिहिबार

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै आयोगमा आजै दुई नयाँ दल दर्ताको तयारी


निर्वाचन आयोग

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले आज बुधबार दिउसो राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा आजै दुई नयाँ दल दर्ताको तयारी गरिएको छ । राष्ट्रपतिले यो अध्यादेश जारी गरेसँगै नेकपा (एमाले) को माधव नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई अव पार्टी विभाजन गर्न सहज भएको छ ।

राष्ट्रपतिले यो अध्यादेश जारी गरेपछि नेकपा (एमाले) को नेपाल समूहका नेताले नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन लैजाने तयारी गरेका छन् भने (जसपा) को महन्थ ठाकुर पक्षले जसपा नेपाल (लोकतान्त्रिक) गठनका लागि निवेदन दिने तयारी गरेका छन् ।

राजनीतिक दल विभाजन सम्बन्धी शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश जारी गर्नको लागि हिजो राष्ट्रपति कार्यालय शीतल निवास पुगेको थियो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । तर सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

यद्यपि पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको भन्दै यसको चौतर्फी विरोध भइरहेको छ ।

यो पनि पढ्नुहोस्

अध्यादेश जारी भएसँगै दल दर्ताको लागि आयोग जाने तयारीमा महन्थ ठाकुर पक्ष

निर्वाचन आयोगमा दल दर्ता गर्न हस्ताक्षर संकलन गर्दै माधव नेपाल समूह

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !