२० बैशाख २०८१, बिहिबार

निर्वाचन आयोगमा दल दर्ता गर्न हस्ताक्षर संकलन गर्दै माधव नेपाल समूह


माधव नेपाल फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगमा दल दर्ता गर्न नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन जारी रहेको छ । अहिले काठमाडौंको नयाँ वानेश्वरस्थित अर्याल होटेलमा उनीहरूको छलफल जारी रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा गएर उनीहरूले नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन् । माधव नेपालको नेतृत्वमा दर्ता हुन लागेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तयारी गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले आज बुधबार दिउसो राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा आजै नयाँ दल दर्ताको तयारी गरिएको छ । राष्ट्रपतिले यो अध्यादेश जारी गरेसँगै नेकपा (एमाले) को माधव नेपाल समूहलाई अव पार्टी विभाजन गर्न सहज भएको हो ।

राजनीतिक दल विभाजन सम्बन्धी शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश जारी गर्नको लागि हिजो राष्ट्रपति कार्यालय शीतल निवास पुगेको थियो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । तर सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !