२१ बैशाख २०८१, शुक्रबार

प्रचण्डको दावी : आगामी चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना छ


प्रचण्ड फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा आफ्नो पार्टी फेरि पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष प्रचण्डले आफ्नो पार्टी प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी गरेका हुन् ।

पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको उनको विश्लेषण रहेको छ ।

तर उनले यो राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न बाँकी रहेको उनले बताएका छन् । गठबन्धन निर्माण गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई घोडाबाट झार्ने काम माओवादी केन्द्रले नै गरेको हो भन्ने जनताले बुझेका छन् ।

यसबीचमा नेतृत्वबाट कमी कमजोरीहरू पनि भएको बताउँदै प्रचण्डले संघ र प्रदेश दुबैतिर माओवादी बलियो भएको बताए । तर, बलियो भएका छौं भनेर ढुक्क भएर नबस्न प्रचण्डले आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।

उनले बैठकमा बलियो छ भनेर ढुक्क हुने स्थिति नरहेको भन्दै परिवर्तन उल्ट्याउन खोज्ने तत्वहरुले गठबन्धन तोड्ने र पुरानै सरकार ल्याउन खोजेका बताउदै माओवादीको काँधमा अहिले पनि ठुलो जिम्मेवारी रहेको बताए ।

केन्द्रीय कमिटीको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले नेकपाको तीन वर्षे कार्यकालको पनि समीक्षा गरे । नेकपाका दुई अध्यक्षमध्ये केपी ओलीले प्रतिक्रियावादी धारको नेतृत्व गरेको र आफूले क्रान्तिकारी धारको नेतृत्व गर्दै ओलीविरुद्ध वैचारिक संघर्ष गरेको बताएका थिए ।

यो पनि पढ्नुहोस्

प्रचण्डद्वारा पुस ११ गते देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव

सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !