१४ बैशाख २०८१, शुक्रबार

कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त


kulman ghising

काठमाडौँ । नेपाल सरकारले कुलमान घिसिङलाई पुन: नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणमा कुलमानको कमब्याक भएको हो । मन्त्रालय स्रोतका अनुसार घिसिङले प्राधिकरणको कार्यकारी अधिकृतका रूपमा सम्भवतः बुधबार (आज) कार्यभार सम्हाल्दै छन् । मन्त्रिपरिषद् बैठकबाट निर्णय भए पनि घिसिङलाई प्राधिकरणको नेतृत्व जिम्मा दिइएको पत्र दिन बाँकी रहेको छ ।

वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको हो ।

प्राधिकरण स्रोतका अनुसार हालका कार्यकारी प्रमुख शाक्यले मंगलबार प्राधिकरणमा पुगेर विभागीय प्रमुखलगायतसँग भेटघाट गरी बिदा लिएका छन् । उनले सरकारले सम्मानजनक रूपमा आफूलाई अन्य ठाउँमा पठाउन चाहेकाले आफू जान तयार भएको निकटस्थसँग बताएका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणमा घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका थिए । सवै आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएका थिए ।

लगभग एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएको थियो । तर शाक्यको काम सन्तोषजनक नदेखिएको ठहर गर्दै मन्त्री भुसालले उनलाई राजीनामा दिन दवाव दिएकी थिइन् ।

स्रोतका अनुसार श्रावण १९ गते मंगलबार प्रधानमन्त्री देउवाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेकी थिइन् ।

ऊर्जामन्त्री भुसालले प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दा राजीनामा मागेकी थिइन् । शाक्य २०७७ माघ २७ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो बनाएका थिए । उनलाई सामाजिक संजाल र सडकमा समेत पुनर्नियुक्ति हुनुपर्ने आवाज उठेपनि ओली सरकारले नियुक्ति गरेको थिएन ।

यो पनि पढ्नुहोस्

विद्युत् प्राधिकरणमा कुलमानको दोस्रो इनिङ आजदेखि शुरु

सरकारले कुलमानलाई विद्युत प्राधिकरणमा पुन: ल्यायो, हितेन्द्रको ऊर्जा आयोगमा सरुवा

प्राधिकरणवाट ओलीले नियुक्त गरेका शाक्यलाई हटाइदै, देउवाले गरे कुलमानलाई ल्याउने तयारी

विद्युत प्राधिकरणमा फेरि कुलमान नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिन सरकारको आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !