२५ बैशाख २०८१, मंगलबार

एमाले स्थायी कमिटी बैठकमा नेपाल समूह अनुपस्थित, वामदेव सहभागी


स्थायी कमिटी बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी रहेको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज जारी बैठकमा एमालेको माधव नेपाल समूह अनुपस्थित भएको छ भने एमाले उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका छन् ।

विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक हिजो स्थगित भएको थियो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो ।

हिजो विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका थिए ।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुने बताएका छन् ।

एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।

यसअघि ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने भनेपनि बीचैमा स्थगित गरिएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा माधव नेपाल जस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको स्पष्ट पारेका छन् ।

यता एमालेका वरिष्ठ नेता नेपालले हिजो अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा आयोजित अखिल फोर्स बृहत् भेलालाई सम्बोधन गर्दै लोकतन्त्र र परिवर्तनको खम्बाका रूपमा स्थापित विद्यार्थी सङ्गठनलाई गलत प्रवृत्तिका विरुद्धमा सतिसालझै उभिन निर्देशन दिएका थिए ।

उनले अहङ्कारले मानिसलाई पतन गराउने भएकाले निरंकुश र स्वेच्छचारी प्रवृत्ति नियन्त्रणका लागि इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका थिए । यसले गर्दा एमालेमा ओली र नेपालवीच झन् विवाद चर्किएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !