२६ बैशाख २०८१, बुधबार

मन्त्रिपरिषद् विस्तारको बारेमा प्रधानमन्त्री देउवा र प्रचण्डवीच छलफल


प्रचण्ड र देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच झण्डै १ लामो घण्टा छलफल भएको हो ।

आज भएको देउवा र प्रचण्डवीच भएको भेटवार्ता मन्त्रिपरिषद् विस्तारको बारेमा केन्द्रित भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । हिजो बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।

हिजो बसेको सत्ता गठबन्धनको बैठकले चाँडो भन्दा चाँडो मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो । तर हिजो भएको बैठकमा राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका थिए ।

हिजोको बैठकमा विभिन्न दलका शीर्ष नेताले प्रधानमन्त्री देउवालाई सरकार सञ्चालन सम्बन्धमा सुझाव दिनुका साथै सरकारका कामको समीक्षा समेत गरिएको थियो ।

प्रधानमन्त्री भएको दुई हप्ता पुग्दासम्म देउवाले मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भएर देउवाको आलोचना हुँदै आएकोमा उनले मन्त्रिपरिषद् बिस्तारको तयारीलाई तीब्रता दिएका हुन् ।

हालसम्म नेपाली काग्रेंसको तर्फबाट गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ, माओबादी केन्द्रको तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुषाल नियुक्त भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !