१४ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी


सत्ता गठबन्धनको निर्णय फाइल फोटो

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी रहेको छ । बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न विहान ९ बजेदेखि बैठक शुरु भएको हो ।

बैठकमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको सहभागिता भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद् बिस्तारको तयारी गरेको बालुवाटार स्रोतले बताएको छ ।

देउवा निकट स्रोतका अनुसार हिजो बिहान देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारको बैठकमा मन्त्रिपरिषद् बिस्तारको बारेमा पनि छलफल भएको छ ।

प्रधानमन्त्री भएको दुई हप्ता पुग्दासम्म देउवाले मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भएर देउवाको आलोचना हुँदै आएकोमा उनले मन्त्रिपरिषद् बिस्तारको तयारीलाई तीब्रता दिएका हुन् ।

हालसम्म नेपाली काग्रेंसको तर्फबाट गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ, माओबादी केन्द्रको तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुषाल नियुक्त भइसकेका छन् । अहिले देउवा नेतृत्व सरकारको मन्त्रिपरिषद् बल्ल ६ सदस्यीय मात्र भएको छ ।

हिजो बिहान मात्र प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।

मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । उनले आज बिहानै एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

नेपाल निवास कोटेश्वर पुगेर प्रचण्डले सरकारमा सहभागिताका विषयमा छलफल गरेका थिए । छलफलका क्रममा नेता नेपालले केही समय कुर्न आग्रह गरेको स्रोतले बताएको थियो । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको एमाले नेपाल समूहले सरकारमा सहभागिताका विषयमा अहिलेसम्म निर्णय गर्न सकेको छैन ।

प्रधानमन्त्री देउवाले नेकपा एमालेको असन्तुष्ट माधव समूहलाई पनि प्रचण्डको जोडबलका आधारमा सरकारमा सहभागी गर्ने रणनीतिमा लागेका छन् । नेपाल समूहलाई ८ मन्त्रालय दिने सहमति भएपनि नेपाल समूह भने अहिलेसम्म सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन ।

नेता नेपाललाई भेटेलगत्तै प्रचण्डले प्रधानमन्त्री देउवासँग पनि भेट गरेका थिए । प्रधानमन्त्री देउवालाई माओवादीले पनि आफ्नो भागमा परेको मन्त्रालयका लागि मन्त्रीको नाम दिन सकेको छैन ।

शनिबार मात्रै प्रचण्डले पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै हुँदा आफू दबाबमा परेको बताएका थिए । कसलाई मन्त्री बनाउने भन्ने विषयमा आफ्नो दिमागमा आतंक चलिरहेको उनले सुनाएका थिए ।

यता जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको कार्यकारिणी समितिको बोलाएको बैठक हिजो बसेको थियो । हिजो बसेको बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल भएको थियो ।

यस्तै प्रधानमन्त्री देउवालाई संसदमा विश्वासको मत दिएको जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले भने शेरबहादुर देउवा नेतृत्वको सरकारले भने नजाने स्पष्ट पारेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवाले गरे चाँडै मन्त्रिपरिषद् बिस्तारको तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !