१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवाले गरे चाँडै मन्त्रिपरिषद् बिस्तारको तयारी


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद् बिस्तारको तयारी गरेको बालुवाटार स्रोतले बताएको छ ।

देउवा निकट स्रोतका अनुसार आज बिहान देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारको बैठकमा मन्त्रिपरिषद् बिस्तारको बारेमा पनि छलफल भएको छ ।

प्रधानमन्त्री भएको दुई हप्ता पुग्दासम्म देउवाले मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भएर देउवाको आलोचना हुँदै आएकोमा उनले मन्त्रिपरिषद् बिस्तारको तयारीलाई तीब्रता दिएका हुन् ।

हालसम्म नेपाली काग्रेंसको तर्फबाट गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ, माओबादी केन्द्रको तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुषाल नियुक्त भइसकेका छन् । अहिले देउवा नेतृत्व सरकारको मन्त्रिपरिषद् बल्ल ६ सदस्यीय मात्र भएको छ ।

देशमा कोरोना महामारीको तेस्रो लहर पुन: आउने भनेर स्वास्थ्य मन्त्रालयले खतराको घण्टी बजाई सकेको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आउँदो असोज १५ गतेदेखि कोरोना संक्रमणको तेस्रो लहर आउने प्रक्षेपण रहेको बताएका छन् ।

यद्यपि प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त गरेपनि शिक्षा क्षेत्रका व्यवसायीलाई राज्यमन्त्रीमा नियुक्ति गरिएको भन्दै आफ्नै पार्टीभित्र, बाहिर र सामाजिक संजालमा देउवाको आलोचना भएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएकै दिन स्वास्थ्यमन्त्री नियुक्त नगरेको भएर देउवाको सर्वत्र आलोचना भएको थियो । कोरोना महामारीसँग जुध्न अनुभव भएको योग्य स्वास्थ्यमन्त्री नियुक्त गर्ने बाध्यता भएतापनि ब्यापारिक पृष्ठभूमि भएका श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेको भएर देउवाको फेरि आलोचना शुरु भएको हो ।

यता वरिष्ठ चिकित्सक एवं अभियन्ता डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्री देउवासँग माग गरेका छन् । प्रधानमन्त्री देउवालाई मंगलबार ६ बुँदे खबरदारी पत्र लेख्दै केसीले श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका हुन् ।

उनले अब उपरान्त व्यापारी वा व्यवसायीहरूले नेता, तिनका परिवारका सदस्यलाई चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरू डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआओस् भनेका छन् ।

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारमा सामेल गरिएका मन्त्री चयनमा कमजोरी भएको बताएका छन् । खड्का गठबन्धनबाट ‘सरकारलाई सहयोग गर्न बनेको कार्यदल’का संयोजक हुन् । उनले हिजो सोमबार ट्वीट गर्दै ‘जसको कारणले मन्त्री चयनमा कमजोरी भएको भए पनि महामन्त्रीको नाताले आम नागरिक र सम्बन्धित सबै पक्षसँग क्षमा’ मागेका छन् ।

आज बिहान मात्र प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।

मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । उनले आज बिहानै एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

नेपाल निवास कोटेश्वर पुगेर प्रचण्डले सरकारमा सहभागिताका विषयमा छलफल गरेका हुन् । छलफलका क्रममा नेता नेपालले केही समय कुर्न आग्रह गरेको स्रोतले बताएको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको एमाले नेपाल समूहले सरकारमा सहभागिताका विषयमा अहिलेसम्म निर्णय गर्न सकेको छैन ।

प्रधानमन्त्री देउवाले नेकपा एमालेको असन्तुष्ट माधव समूहलाई पनि प्रचण्डको जोडबलका आधारमा सरकारमा सहभागी गर्ने रणनीतिमा लागेका छन् । नेपाल समूहलाई ८ मन्त्रालय दिने सहमति भएपनि नेपाल समूह भने अहिलेसम्म सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन ।

नेता नेपाललाई भेटेलगत्तै प्रचण्डले प्रधानमन्त्री देउवासँग पनि भेट गरेका हुन् । प्रधानमन्त्री देउवालाई माओवादीले पनि आफ्नो भागमा परेको मन्त्रालयका लागि मन्त्रीको नाम दिन सकेको छैन ।

शनिबार मात्रै प्रचण्डले पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै हुँदा आफू दबाबमा परेको बताएका थिए । कसलाई मन्त्री बनाउने भन्ने विषयमा आफ्नो दिमागमा आतंक चलिरहेको उनले सुनाएका थिए ।

यता जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको कार्यकारिणी समितिको बोलाएको बैठक आज बसिरहेको छ । आज जारी बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफलको एजेण्डामा रहेको छ ।

यस्तै प्रधानमन्त्री देउवालाई संसदमा विश्वासको मत दिएको जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले भने शेरबहादुर देउवा नेतृत्वको सरकारले भने नजाने स्पष्ट पारेको छ ।

सरकार गठन भएको १४ दिन हुँदा समेत अझै १७ वटा मन्त्रालय मन्त्रीविहीन छन् । चुनौतिका पहाड रहेको बेला प्रधानमन्त्री बनेका देउवालाई गठबन्धनका दलहरुलाई मिलेर मन्त्रिपरिषद् विस्तार गर्न फलामको चिउरा जस्तै भएको छ भने कोरोनाको महामारीवाट आक्रान्त नेपाली नागरिकलाई समयमै खोप लगाउने गरेको वाचा पुरा गर्न पनि त्यति सहज देखिदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !