२५ बैशाख २०८१, मंगलबार

माधव नेपाल अव एमालेमा नफर्कने अध्यक्ष ओलीको निष्कर्ष


केपी शर्मा ओली र माधव नेपाल फाइल फोटो

काठमाडौँ । अन्तत: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेका बरिष्ठ नेता माधव नेपाल एमालेमा नफर्कने निष्कर्षमा पुगेका छन् । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीसहितका नेताले नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालसहित २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको हो । हिजो आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता नेपालसहित २२ सांसदले उनको पक्षमा मतदान गरेका थिए ।

आज बसेको केन्द्रीय कमिटीको १० औं बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको छ । ज्ञवालीले गत जेठ २३ गते अध्यक्ष केपी ओलीले गरेको पार्टी एकताको आह्वान र गत असार २७ गते कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन सुरु गरेको दावी समेत गरे ।

बैठकमा पार्टी अध्यक्ष ओलीले देउवाले विश्वासको मत लिने क्रममा देखिएका परिदृश्य र त्यसले पारेका प्रभावका बारेमा चर्चा गरेका थिए । उनीहरुलाई सोधीएको स्पस्टीकरणको आधारमा कस्तो कारवाही गर्ने भन्ने निर्णय हुने एमालेले जनाएको छ ।

हिजो मात्र एमालेका प्रवक्ता ज्ञवालीले वरिष्ठ नेता नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको बताएका थिए । यद्यपि नेता नेपाललाई रोक्न उनी पक्षका नेताहरुले अहिले पनि प्रयत्न गरिरहेको ज्ञवालीले बताएका थिए ।

हिजो बसेको स्थायी कमिटी बैठकपछि ज्ञवालीले प्रधानमन्त्री देउवालाई आफू एक्लैले भएपनि विश्वासको मत दिने बताएर नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको प्रष्ट भएको बताएका थिए ।

यस्तै बैठकमा उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामाका बारेमा समेत चर्चा भएको थियो । बैठक भोलि ३ बजे पुन: बस्नेछ ।

यो पनि पढ्नुहोस्

माधव नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको स्पष्ट भएको प्रदीप ज्ञवालीको भनाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !